नेपालगन्ज १० किमि रात्री दाैड हुने

नेपालगन्ज – धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक नेपालगन्ज १० किमी रात्रीदौड आयोजना गर्न लागिएको छ ।
नेपालगन्ज रात्रीदौड आउँदो संविधान दिवस २०८१ असोज ३ गते बिहीबार राती हुनेछ । राती ९ बजे स्थानीय बीपीचोकबाट दौड सुरु हुनेछ । एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट प्रमाणीकरण रुटमा रात्रीकालीन दौड सञ्चालन गरिनेछ ।
नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्डसले धारा नेपालगन्ज म्याराथनको १० औं संस्करणलाई भव्य बनाउन अन्य विभिन्न १० इभेन्टसँगै रात्रीदौड आयोजना गर्न लागेको जनाएको छ । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करण आउँदो २२ मंसिर, २०८१ शनिबार हुने घोषणा भइसकेको छ । १ भदौंदेखि खेलाडी दर्तासमेत खुलिसकेको छ ।
पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौंडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ । १० किमी रात्रीदौडसँगै अन्यका लागि फन रनका रुपमा सहभागी गराउने जनाइएकाे छ । पुरुष र महिलातर्फका शीर्ष तीन जनालाई क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार नगद प्रदान गरिनेछ । दर्ता मिति यही भदौ १५ गतेदेखि २० गतेसम्म राखिएको छ । रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएकाे अध्यक्ष टीएस ठकुरीले जानकारी दिनुभयाे ।


error: यो सुविधा उपलब्ध छैन !