भत्किएको तटबन्ध बनाईदिन गुहार

नेपालगन्ज – बाँकेका दुई गाउँपालिकाका बासिन्दाले राप्ती नदीको भत्किएको तटबन्ध बनाइदिन गुहार मागेका छन् ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७, खल्लाझगडियास्थित नदीमा बनाइएको तटबन्ध भत्किएकाले त्यसलाई तुरुन्त नबनाए राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ र नरैनापुर गाउँपालिकाका सबै वडा डुवानमा पर्ने भन्दै स्थानीयले त्यस क्षेत्रबाट निर्वाचित सांसद सूर्य ढकालसँग गुहार मागेका हुन् । उक्त तटबन्ध भत्किएमा दुई गाउँपालिकाका ६० हजार बढी नागरिक डुवानको जोखिममा पर्ने बताइएको छ ।
भत्किएको तटबन्ध भएको ठाउँमा पुगेका सांसद ढकालले तुरुन्त मर्मत गराउन आफूले आवाज उठाउने बताउनुभयो ।
स्थानीय दुर्गाप्रसाद पाण्डेले पानी ठूलो पर्ने अवस्था देखिने वित्तिकै आफूहरु डुवानको चिन्तामा पर्ने गरेको बताउनुभयो । उहाँले तुरुन्त तटबन्ध मर्मत गरेर आफूहरुको ज्यान बचाई दिन आग्रह गर्नुभयो ।
पाण्डेका अनुसार, राप्तीसोनारीको ६ र ७ नम्बर वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ र नरैनापुर गाउँपालिकाको गंगापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्ती जोखिममा रहेका छन् ।
राप्ती नदीको दुवैतर्फ पक्की तटबन्ध नबनाएसम्म तटीय क्षेत्रका गाउँ सधै डुवानको जोखिममा पर्ने गर्दछन् । नदीको २८ किलोमिटर खण्डमा भारत सरकारले तटबन्ध बनाइदिने सम्झौता भएपनि काम हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !