१२ सय लिटर दूध नष्ट


नेपालगन्ज – सशस्त्र प्रहरीले एक हजार दुई सय लिटर भारतीय दूध नष्ट गरेको छ ।
नेपालगन्ज र खडैचा नाकाबाट भित्रिएको दूध सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । सशस्त्र प्रहरीका एसपी बिमल डाँगीका अनुसार, शुक्रबारयता नेपालगन्ज नाकाबाट साढे सात सय लिटर र खडैचा नाकाबाट साढे चार सय लिटर दूध नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट भित्रिएको दूध समातेर क्वारेन्टाइनमा प्रक्रियामा मिलाएर नष्ट गरिरहदा भारतीय प्रहरीले नेपाल प्रहरीसँग गरीवको दूध भएकाले छोडिदिन आग्रह गरिरहेको थियो । उताका गरीवलाई हेर्दा यताका गरीवले दुःख पाउने भएकाले छोड्न नसकिने कुरा गरिएको थियो ।
नेपाल सरकारले भारतबाट दूध तथा दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको छ । सरकारले प्रतिबन्ध लगाएपनि भारतीय दूध दैनिक भित्रिरहेको व्यवसायीको गुनासो छ । बाँके दुग्ध व्यवसायी संघका कार्यवाहक सचिव चेतनारायण शर्माले भारतीय दूध भित्रिरहदा यहाँका किसान मारमा परेको बताउनुभयो ।
भारतीय दूध मुख्य नाकाबाटै भित्रिने गर्दछ । साइकलमा क्यान राखेर दूध ल्याउने गरिन्छ । सुरक्षा निकाय, भन्सार, क्वारेन्टाइन मुख्य नाकामै निगरानी गरिदिदा भारतीय दूध रोकिने व्यवसायीको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !