एकैपटक पन्ध्र सय बढी पत्रकार नेपालगञ्ज आउदै

नेपालगञ्ज – नेपालगञ्जमा हुन थालेको प्रेस युनियनको नवौं महाधिवेशनका लागि सचिवालय स्थापनासँगै विभिन्न समितिहरु बनाइएको छ ।
युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले सुर्खेतरोडस्थित वेष्टर्न बिजनेस कम्प्लेक्समा सचिवालयको उद्घाटन गर्नुभयो । अध्यक्ष सिग्देलले प्रेस युनियन भनिएपनि पत्रकारहरुको महाकुम्भ हुने भएकाले सबैले मिलेर सफलतापूर्वक सम्पन्न गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले महाधिवेशनमा सरकारले ल्याएको मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकका बारेमा गम्भीर छलफल हुने जानकारी दिनुभयो ।
अध्यक्ष सिग्देलले लोकतान्त्रिक सरकारले पत्रकारिता क्षेत्रलाई नै असर पर्ने गरी कानूनहरु निर्माण गरेकोमा आपत्ति जनाउनुभयो । ‘सरकारले दण्ड, जरिवाना र सजायका बारेमा पुनर्लेखन गर्नुपर्छ । पत्रकारलाई ज्यान मार्ने भन्दा बढी सजाय राख्न पाइदैन, सिग्देलले भन्नुभयो, महाधिवेशनमा यीलगायत पत्रकार आचार संहिता, विज्ञपन नीतिका बारेमा छलफल हुन्छ ।’


नेपालगञ्जमा चैत्र २१ र २२ गते हुने महाधिवेशनलाई सफल बनाउन युनियनले महाधिवेशन परिचालन समिति गठन गरेको छ । समितिको संयोजकमा प्रेम केसी रहेका छन् । सदस्यहरुमा हेमन्त कर्माचार्य, विजय बर्मा, दिपा आले, जयसिंह केसी, हरिश भट्ट, अर्जुन वली, जयनारायण शाह, शुक्रऋषि चौलागाई, नरेन्द्र थापा, दामोदर भण्डारी, राकेश मिश्रा, नविन गिरी, चेतकान्त भट्टराई र सदस्य सचिवमा श्रीराम सिग्देल रहनु भएको छ ।
त्यस्तै, आर्थिक परिचालन तथा संकलन सचिवालय व्यवस्थापन समितिको संयोजकमा प्रेम केसी, आवास तथा भोजन व्यवस्थापन समितिमा श्रीराम सिग्देल, पर्यटन प्रवद्र्धन समितिमा शुक्रऋषि चौलागाई, अनुगमन तथा मूल्यांकन समितिमा हेमन्त कर्माचार्य, प्रकाशन तथा छापा सम्बन्धी समितिमा दामोदर भण्डारी, प्रचार प्रसार समितिमा अर्जुन वली, सुरक्षा तथा समारोह व्यवस्थापन समितिमा जयनारायण शाह, अतिथि सत्कारमा जयसिंह केसी, झाँकी, प्रभातफेरि तथा सांस्कृतिक समितिमा नरेन्द्र थापा, सामाजिक संघ संस्था तथा सम्मान व्यवस्थापनमा नविन गिरी र सरसफाई तथा स्वास्थ्य व्यवस्थापन समितिको संयोजकमा विमल चन्द रहनु भएको छ ।
युनियनको महाधिवेशनमा देशभरबाट एक हजार पाँच सय बढी पत्रकार सहभागी हुने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !