वातावरणमैत्री बनौं

सतिश निरौला
(खजुरा) – हजुरबुबा (मम्मीको मामा) को घरमा भित्तामा साँच्चिकै हरिणहरु टाँगिएका थिए, ती हरिणको कथा सुनाउदै हजुरबुबाले भन्नुहुन्थ्यो, यी सबै म आफैंले यही खजुराको जंगलमा शिकार गरेका हरिण हुन् । त्यो समयमा अहिलेको खजुरा घना जङ्गल थियो। हो पुनर्बासमार्फत खजुरामा बसोबास गराउन थालिएपछि यस ठाउँमा भएकोे सबै जंगल मासिए।

अहिले उखरमाउलो गर्मीले हामीलाई हायलकायल पारेको छ । त्यो समय खजुरामा जंगल देखेको पुस्तालाई निकै याद आएको होला यो गर्मीमा ती हरियाली जंगल । केही बर्ष अघिसम्म पनि नेपालगन्ज- खजुरा सडक खण्डमा दोहोरोलाइन नै रुखहरु थिए । हामी महेन्द्र बहुमुखी क्याम्पस पढ्न जादा आउँदा होस् वा बजार गरेर फर्किदा गर्मियाममा सुस्ताउने प्रशस्त छाहारी हुन्थे ती रुखहरु । तर अहिले कतै पनि बाटोमा रुख भेट्न मुस्किल हुन्छ, सडक विस्तारसँगै मासिए रुखहरु।
आज विश्व वातावरण दिवस (जुन ५ तारीख) देशभर मनाइदै छ । विभिन्न कार्यक्रम र गोष्ठीहरु भए र हुँदै छन् तर हामी (मानव समुदाय) आफैंले बिगारेको वातावरणलाई पुनः पुरानो अवस्थामा फर्काउने सामर्थ्य हामीसँग छैन किनकि हामीलाई आधुनिकताले थिँच्दै गयो, हाम्रो आहार, बिहार, सस्कार र व्यबहारहरु नै वातावरण मैत्री छैनन् तर पनि वातावरण सुधारको लागि केही न केही क्रियाकलाप हामीले नै गर्न जरुरी छ।

छोटोदुरिको यात्रा गर्नुपर्दा साइकलको प्रयोग गर्ने, एसी, जेनेरेटर को प्रयोगलाई निरुत्साहित गर्ने, सार्वजनिक यातायातको प्रयोगलाई जोडदिए निजी सवारी साधनकोको प्रयोग कम हुनेछ । आज भन्दा ३० बर्ष अघि मात्रै फर्किएर हाम्रो समाज, गाउँ र शहरलाई नियाल्ने हो भने अहिले प्रयोगमा आएका टिप्पर, ट्रक र ट्याक्टरको काम गोरुगाढा (लडिया) बाट हुन्थ्यो , निजी कार मोटर औंलामा गन्न सकिने थिए, मोटरसाइकलको प्रयोग निक्कै नै कम थियो, सवारी साधनको रूपमा टाँगा चल्थे, नगर बस चल्थे अहिले जस्तो एउटा घरमा जति सदस्य छन् ब्यक्ति पिच्छे न स्कुटर थिए न त मोटरसाइकल । जागीरे वा अलि कमाई हुनेसँग साइकल हुन्थे यसरी आज भन्दा ३० बर्ष अघिको समाज स्वस्फूर्त रूपमा वातावरण मैत्री थियो।

अबको नयाँ पुस्तालाई वातावरण मैत्री बनाउन हामीले हाम्रो बानी व्यबहार मै आमूल परिवर्तन गर्नुपर्ने हुन्छ र बिस्तारै प्रकृतितर्फ फर्किने प्रयास गर्नु जरुरी छ । विश्व वातावरण दिवसको शुभकामना ।


error: यो सुविधा उपलब्ध छैन !