वाटरपार्कमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास


नेपालगन्ज – जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेको आयोजनामा नेपालगन्जको वाटरपार्कमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टीमले बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरेका थिए । त्यसमा नेपाली सेनाका ६० जना, सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका २० जना सहभागी भएका थिए ।


स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्त रुपमा बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । जिल्ला विपद् समितिले बाँकेका विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्यबाट १५ हजार घरपरिवार प्रभावित हुने आकलन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र रिजाल, नेपाली सेनाको श्री नं. ४ बाहिनीका बाहिनीपति एवं सहायक रथी रोशनशमशेर जबरा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धनसिंह सम्झनाले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसप्रकारको अभ्यास गरेर साधन, स्रोत र जनशक्तिलाई तयारी अवस्थामा राख्नु पर्ने बताउनुभयो । कृत्रिम घटना अभ्यासले आपसमा हातेमालो गरेर अघि बढ्नमा सघाउ पुग्ने उहाँहरुको भनाई थियो ।


बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रममा बज्रदलका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय जोरासिंह माझी र लालबहादुर गुरुङ, एसपी तुलबहादुर कार्की, सशस्त्रका एसपी विमल डाँगी, राष्ट्रिय अनुसन्धानका उप अनुसन्धान निर्देशक ओमबहादुर खड्कालगायतको उपस्थिति थियो ।


नेपाली सेनाको बज्रदलको यो चौथो घटना अभ्यास थियो । नेपाली सेना विपद् हुँदा अगाडि खटिन्छ नै । आजको घटना अभ्यासलाई बज्रदलले ‘अभ्यास मनसुन–४’ नामाकरण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !