बैशाख र जेठमा सडकमा बस्ने ७ जनाकाे मृत्यु


नेपालगन्ज – जेठ १८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. २०, राँझाचोकमा एक महिला बेहोस् भइन् । उपचारका लागि अस्पताल लैजान नपाउदै उनको मृत्यु भयो । पछि सोधीखोजी गर्दा राँझा नै बस्ने ३७ वर्षीया गंगा विक भएको पुष्टि भयो ।
सडकमै बसिरहने विकले मादक पदार्थ सेवन गर्ने गरेको सधैं त्यहाँ देखिरहनेहरुको भनाई थियो । चर्को गर्मी सडकको बास अनि मादक पदार्थ सेवनले गर्दा विकको मृत्यु भएको आममानिसको बुझाई रह्यो ।
जेठ १५ गते दिउँसो एक बजे नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८, कारकादोस्थित सुर्खेतरोडमा एक महिला बेहोस् अवस्थामा फेला परिन् । अन्दाजी ३५-४० वर्षकी महिलालाई बेहोस् अवस्थामै भेरी अस्पताल, नेपालगन्जमा लगियो । उपचारको क्रममा महिलाको मृत्यु भयो । सडकमा मागेर हिड्ने ती महिलाको सनाखत हुन सकेको छैन ।
जेठ ५ गते नेपालगन्जको बागेश्वरी मन्दिर परिसरमा बस्ने एक महिला बेहोस् भइन् । उपचारका लागि भेरी अस्पतालमा लगियो, त्यही उनको मृत्यु भयो । महिलाको पछि सनाखत भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० की ५२ वर्षीया भीमाकुमारी पाण्डे रहिछन् । मन्दिर परिसरमा मागेर बस्ने उनले पनि अत्याधिक मदिरा सेवन गर्ने गरेको चिनेजानेकाहरुले बताए ।
जेठ ४ गते विहान ११ बजे खजुरारोडमा एक पुरुषको शव फेला प¥यो । हेर्दा ४०-४२ वर्षको जस्तो देखिने पुरुषको सनाखत हुन सकेन ।
बैशाखको ९ गते खजुरारोडमा पुरुषको शेव फेला प¥यो । रक्ताम्य अवस्थामा रहेका पुरुषको सनाखत हुन सकेन । बैशाख ७ गते महेन्द्र बहुमुखी क्याम्पस नजिक बेहोस् अवस्थामा भेटिएकी २९ वर्षीया गीता परियारको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भयो । बैशाख ४ गते नेपालगन्जको कारकादोमा बर्दियाका टेकबहादुर चौधरी बेहोस् भए । उपचारको लागि भेरी अस्पतालमा लगिएको र उपचारको क्रममा उनको मृत्यु भयो ।
नेपालगन्जमा पछिल्लो दिनमा ४४.२ डिग्रीसम्म तापक्रम पुगेको छ । बैशाखदेखि नै यहाँको तापक्रम ४० डिग्री आसपासमा रहेको छ । अत्याधिक गर्मीले गर्दा घरभित्रै नै बस्न नसक्ने अवस्थामा सडकमा बस्ने मानिसलाई त्यसले प्रत्यक्ष असर पु¥याएको छ । त्यसमा बेवारिसे अवस्थामा सडकमा माग्दै हिड्नेहरु अलिकति पैसा जम्मा हुने वित्तिकै मदिरा सेवन गरेको पाइन्छ । बाहिरी तापक्रमको गर्मी र मदिरा सेवनले गर्दा उनीहरुको मृत्यु भएको जानकारहरु बताउँछन् । भेरी अस्पतालमा भने गर्मीकै कारण मृत्यु भएको तथ्यांक छैन । प्रहरीले सडकमा बेहोस् भएर ढलेकालाई उपचारका लागि अस्पताल लैजादा मृत्यु भएको बताएको छ । सात जनामा घटनास्थलमै मृत्यु भएको, मृत्यु भएपछि खबर गरिएको र केहीलाई बेहोस् अवस्थामा अस्पताल पु¥याउँदा मृत्यु भएको प्रहरीको अभिलेख रहेको छ । यसरी मृत्यु भएका र सनाखत हुन नसकेको हकमा केही दिन सोधीखोजी गर्ने र कोही सम्पर्कमा नआएमा प्रहरी र नगरपालिकाले शव व्यवस्थापन गरिदिने गरेका छन् । भेरी अस्पतालमा यस्तो बेवारिसे शब अहिले पनि एउटा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !