बाँकेमै बन्ने भो मानसरोबर
नेपालगञ्ज – बाँकेमा मानसरोबरको प्रतिकात्मक स्थल बनाउन शुरु गरिएको छ ।
बैजानाथ–६, लालपुरमा बनाउन थालिएको मानसरोबरको प्रतिकात्मक स्थलसहितको बोटानिकल गार्डेनको मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभयो । नेपालगञ्ज नाका हुँदै मानसरोबर पुग्ने पर्यटकलाई आकर्षित गर्न बाँकेमा मानसरोबरको प्रतिक बनाउन थालिएको हो ।
मानसरोबरको प्रतिकात्मक स्थलसहित बोटानिकल गार्डेनको शिलान्यास गर्दै मुख्यमन्त्री पोखरेलले पर्यटकीय क्षेत्रमा यसले महत्व राख्ने बताउनुभयो । वर्षेनी ठूलो संख्याका भारतीयहरु नेपालगञ्ज हुँदै मानसरोबर पुग्ने गर्दछन् । ती पर्यटकलाई एक दिन नेपालगञ्जमा रोक्न सकिएमा यहाँको पर्यटन व्यवसायमा ठूलो टेवा पुग्ने विश्वासका साथ मानसरोबरको प्रतिक बनाउन थालिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो ।
मानसरोबर पुग्नका लागि मौसमले साथ दिनु पर्छ । मानसरोबर जान आएका कतिपय पर्यटकहरु नेपालगञ्जबाट फर्किनु पर्ने अवस्थामा रहेको छ । मानसरोबर नै पुग्न नसकेका पर्यटकलाई मानसरोबरको प्रतिक स्थल पु¥याउने उद्देश्य राखिएको छ ।
एक करोड ६ लाख रुपैयामा मानसरोबरको प्रतिकात्मकसहित बोटानिकल गार्डेनको ठेक्का दिइएको छ ।