नेताहरु सामाजिक सञ्जालमा लड्दा हानी

नेपालगञ्ज – ५ नम्बर प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश कमिटिका इन्चार्ज शंकर पोखरेलले केन्द्रीय नेताहरुलाई सामाजिक सञ्जालमा विवाद नगर्न सुझाव दिनु भएको छ ।
कोहलपुरमा प्रदेशका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले केन्द्रीय नेताहरुले सामाजिक सञ्जालमा विवाद गर्दा तल्लो तहमा फाटो आइरहेको बताउनुभयो । ‘केन्द्रीय नेताहरु विवाद गर्नुहुन्छ । त्यही हेरेर तल्लो तहमा धारणा बन्छ । केन्द्रका नेताहरु मिलिहाल्नु हुन्छ । तल्लो तहमा मिल्न सक्दैनन्, पोखरेलले भन्नुभयो, केन्द्रीय नेताहरुले सामाजिक सञ्जालमा विवाद नगरिदिए राम्रो हुन्थ्यो ।’
नेता पोखरेलले कार्यकर्ताहरुले केन्द्रीय नेताहरु एउटै लयमा हिडेको देख्न चाहेको बताउनुभयो । ‘पार्टीलाई बलियो बनाउन नेताहरु एउटै लयमा हिड्न जरुरी छ । हामी त लयमा हिड्न खोज्छौं । तर, काठमाडौंबाट आउने समाचारले बिथोल्ने गर्दछ,’ पोखरेलले भन्नुभयो ।
पोखरेलले सरकारले गरेको राम्रो कामको नेता तथा कार्यकर्ताहरुले गाउँगाउँमा प्रसार गर्न नसकेको आरोप लगाउनुभयो । ‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा हाम्रो सरकार छ । हामीले धेरै राम्रा काम गरेका छौं । हाम्रै नेताहरुले तल्लो तहमा राम्रा कामहरुको प्रचार गर्न सकेका छैनन्, पोखरेलले भन्नुभयो, हाम्रा तल्लो तहका अध्यक्षलाई सरकारले गरेको राम्रो कामका बारेमा थाहै छैन ।’ उहाँले नेता तथा कार्यकर्ताहरुलाई केन्द्र, प्रदेश र पालिकाको कार्यक्रम लिएर गाउँगाउँमा जान निर्देशन दिनुभयो ।
सरकारले राम्रो काम गर्न खोज्दा बु्रजुवाहरुले तत्काल विरोध गरिरहेको पोखरेलको टिप्पणी थियो । उहाँले गुठी विधेयक अगाडि बढाउदा ब्रुजुवाहरु विरोधमा उत्रिए । सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउन खोज्दा ब्रुजुवाहरुले उडाउँछन् भन्नुभयो ।
प्रदेशस्तरीय प्रशिक्षण र बैठकमा भाग लिन बाँके आउनु भएका मुख्यमन्त्री पोखरेलले सोमबार विभिन्न कार्यक्रममा सहभागी हुनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !