आगलागीमा परेका सैनिकलाई काठमाडौं लगिदै
नेपालगञ्ज – सामुदायिक वनमा लागेको आगलागीमा परेका जलेका नेपाली सेनाका चार जनालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।
डोल्पाको ठूलोभेरी नगरपालिका वडा नं. ३ स्थित मस्टाभवानी सामुदायिक वनमा लागेको आगोमा परेर घाइते भएका देवीदत्त गणको सुरक्षा गुल्मका जमदार केशव दर्जामगर, प्यूठ विजय कोइराला, सिपाही आशिक बुढा र हेमन्त रावतलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको हो ।
चारै जनालाई काठमाडौं लैजानका लागि नेपाली सेनाको स्काई ट्रक नेपालगञ्ज विमानस्थलमा आइपुगेको छ । डोल्पाबाट नेपाली सेनाको हेलिकोप्टरमा प्यूठ कोइराला र सिपाही बुढालाई नेपालगञ्ज ल्याइसकिएको छ । उनीहरुलाई राँझास्थित नेपाली सेनाको अस्पतालमा राखिएको छ । थप दुई जनालाई लिनका लागि हेलिकोप्टर डोल्पा गएको छ । चारै जनालाई नेपालगञ्जबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।
आगलागीमा परेका उनीहरुलाई जिल्ला अस्पताल दुनैमा प्राथमिक उपचार गरेर नेपालगञ्ज हुँदै काठमाडौं पठाउन थालिएको हो ।