शनिबार जनमतको रक्तदान

नेपालगञ्ज – जनमत अर्द्ध साप्ताहिकले हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय समिति र नेपालगञ्ज शाखासँगको सहकार्यमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
जनमतको रजत वर्ष–२०६३ देखि ‘रक्तदान जीवनदान’को उद्देश्यका साथ नियमित रुपमा सञ्चालित ‘त्रैमासिक रक्तदान कार्यक्रम’को ४५ औं श्रृङ्खलामा नेपालकै प्रतिष्ठित हिमालयन बैंक लिमिटेडको २७ औं वार्षिकोत्सवको अवसरमा उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको जनमत सम्पादक पूर्ण लाल चुकेले जानकारी दिनुभयो ।
सो कार्यक्रममा भाग लिन हिमालयन बैंक लिमिटेड, कर्मचारी संगठन केन्द्रीय अध्यक्ष गौतम भण्डारी, उपाध्यक्ष रविन्द्र रञ्जित र केन्द्रीय सदस्य मोहन खनाल शुक्रबार काठमाडौंबाट नेपालगञ्ज आइपुग्नु भएको जानकारी नेपालगञ्ज शाखाका प्रवन्धक शैलेन्द्रमान श्रेष्ठले दिनु भयो ।
कर्मचारी संगठन केन्द्रीय अध्यक्ष भण्डारीले बैंकको २५ औं वार्षिकोत्सवदेखि रक्तदान जस्तो मानव कल्याणकारी कार्यलाई सामाजिक उत्तरदायित्वको रुपमा अङ्गीकार गर्दै हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर बैंकले नेपालगञ्जमा पनि जनमतसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजनालाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउनु भयो ।
स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभरलोड कम हुन जान्छ र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली रिफ्रेस हुन्छ र दान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्वस्थ रहन्छ ।
२०६३ साल वैशाखदेखि निरन्तर रुपमा आयोजना गरिंदै आएको जनमतको त्रैमासिक रक्तदानको ४४ औं श्रृङ्खलासम्म आइपुग्दा करीब २ हजार ८ सय भन्दा बढी संख्यामा स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !