रामजानकी, लक्ष्मी र सूर्योदय मावि विजयी


नेपालगञ्ज – राम जानकी मावि कोहलपुर, लक्ष्मी मावि बर्दहवा र सूर्योदय मावि चिसापानीले नेपालगञ्जमा भइरहेको मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता–२०८० मा सोमबार जित हासिल गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट टे«निङ सेन्टरमा भएको खेलमा राम जानकी माविले ब्राइटल्यान्ड स्कुललाई ११–१ ले पराजित गरेको छ । राम जानकीको तर्फबाट महेश विकले ह्याट्रिक गरे । उनले खेलको ११औं, ४०औं र ४७औं मिनेटमा गोल गरेका थिए । राम जानकीको लागि अमित थापाले दुई गोल गरे । उनले १४औं र ३२औं मिनेटमा गोल गरे । टोलीका लागि अनिल कुमार मगरले २५औं र ३४औं मिनेटमा गोल गरेका थिए ।
रामजानकीका लागि रिजन कठायतले २०औं मिनेट र गणेश आलेले २६औं मिनेटमा गोल गरेका थिए । ब्राइटल्यान्डको तर्फबाट तिन मिनेटमा एउटा आत्मघाती गोल भएको थियो । रामजानकीका खेलाडीले ४५औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
खेलमा ह्याट्रिक गरेका रामजानकीका महेश विक खेलको म्यान अफ द म्याघ घोषित भए । उनलाई राप्रपा नेपालका सहायक महामन्त्री, बुद्ध युवा क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी तेज बिक्रम शाह र ठूली भेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्तोष खड्काले पुरस्कृत गरे ।
अर्को खेलमा लक्ष्मी माविले एबीसी रेसिडेन्टल स्कुललाई ३–२ ले पराजित गरेको छ । खेलमा लक्ष्मीका आर्यन केसीले १३औं र २३औं मिनेटमा गरी दुई गोल र अभिनन्दन शाहीले ३६औं मिनेटमा गोल गरेका थिए । एबीसीका लागि सुजन ओलीले दुई मिनेट र आठ मिनेटमा गोल गरेका थिए । खेलमा लक्ष्मीका आर्यन केसी म्यान अफ द म्याच घोषित भए । उनलाई संविधान सभा सदस्य, नेपाली कांग्रेसका केन्द्रिय सदस्य, नेपालगञ्ज आयुर्वेद जनरल हस्पिटल र नेपालगञ्ज हेल्थ क्याम्पसका अध्यक्ष मैकुलाल वाल्मिकीले पुरस्कृत गरे ।
सोमबार भएको तेस्रो खेलमा सूर्योदय मावि चिसापानीले राम मावि कोहलपुरलाई ४–० ले पराजित गरेको छ । सूर्योदयको जितमा सम्राट सुनारले ३२औं र ५४औं मिनेटमा गोल गरेका थिए । टोलीका लागि क्षितिज बुढाले चार मिनेट र पुरन थापाले ४०औं मिनेटमा गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सूर्योदयका कप्तान विपन बुढा म्यान अफ द म्याच घोषित भए । उनलाई नेपाल ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष कुमार सिंह ठकुरी र खेलपाटी डटकमका सम्पादक हिमबिक्रम केसीले पुरस्कृत गरे ।
बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा भइरहेको प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार माघ १६ गतेको पहिलो खेलमा जिभिएन कलेज र नेपालगञ्ज सेन्ट जेभियर्स (११ः३० बजे), अमर मावि सीगाउँ र आदर्श ईङलिस मिडियम स्कुलबिच दोस्रो खेल(१ः००बजे) हुनेछ ।
मंगलबारको तेस्रो खेलमा धम्बोझी मावि र आदर्श मावि खजुरा बिच(२ः३० बजे) प्रतिस्पर्धा हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !