बैजनाथमा प्रदेश सभा सदस्य गोल्डकप शुरु
नेपालगञ्ज – बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४, विकासनगरमा माघी मिलनसँगै प्रदेश सभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रदेश सभा सदस्य रत्न खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लवले फुटबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले उद्घाटन गर्नुभयो । मन्त्री चौधरीले विकास निर्माणसँगै खेलकुदमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउने बताउनुभयो ।
सोही क्षेत्रबाट चुनाव जितेका प्रदेश सभा सदस्य खत्रीले चुनावताका गरेका बाचा अनुसार आफू अघि बढेको बताउदै केही सडक कालोपत्रे गर्ने विश्वास दिलाएर युवासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो ।
स्थानीय गगन थारुले स्वागत गरेको कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले खेलकुदमा किशोर र युवालाई जोड्न सकेमा कुलतमा नलाग्ने भएकाले आफूहरु लागि परेको बताउनुभयो ।
प्रतियोगितामा १९ वटा टीम सहभागी रहेको छ । प्रथम हुनेलाई ५१ हजार, दोस्रोलाई ३१ हजार र सेमिफाइनलमा पुग्ने अर्को दुई टोलीलाई ५ हजार ५ सय रुपैया पुरस्कार राखिएको छ ।
माघी मिलन कार्यक्रमसमेत रहेकाले त्यहाँ सांस्कृति कार्यक्रम गरिएको छ । विभिन्न ठाउँबाट झाँकीसहित कार्यक्रमस्थलमा आएका सांस्कृतिक टीमले आ–आफ्नो प्रस्तुती देखाएका थिए । थारु नाच, हुड्के नाच देखाइएको थियो ।