अन्तर विद्यालय मेयर कपमा बागेश्वरीको विजयी शुरुवात
नेपालगञ्ज – कोहलपुरको बागेश्वरी एकेडेमीले मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।
नेपालगञ्जको धम्बोझी रहेको एन्फा ग्रासरुट फुटबल मैदानमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बागेश्वरीले डिफेन्डिङ च्याम्पियन पशुपति मावि राझाँलाई २–० ले पराजित गरेको छ । विजेता बागेश्वरीका लागि दुबै गोल सुदिप थापाले गरेका थिए । थापाले खेलको १८ औं मिनेट र ७२आंै मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच भएका सुदिपलाई नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ अध्यक्ष प्रमोद रिजालले पुरस्कृत गरे ।
मेयर कपको नेपालगञ्जका कार्यबहाक मेयर कमरुद्धिन राईले उद्घाटन गरेका थिए । आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष रिजाल, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य मोहन थापा, प्रतियोगिता संयोजक एवम बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्द, उपाध्यक्ष अनिल केसी, टोपेन्द्र खत्री लगायतको उपस्थिति रहेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा शुरु भएको प्रतियोगिता २८ वटा टीम रहेको छ । प्रतियोगिता माघ २४ गते सम्म चल्नेछ ।
प्रतियोगिता अन्तर्गत आइतबार चार वटा खेल हुने प्रतियोगिता संयोजक चन्दले जानकारी दिए । आइतबारको पहिलो खेलमा नेपालगञ्ज मोडेल एकेडेमी र जीवनज्योती स्कुल कोहलपुर (११ः०० बजे), दोस्रो खेल मंगल प्रसाद मावि र जय बागेश्वरी इङलिस मिडियम स्कुल (१२ः३० बजे), मोर्डन पब्लिक स्कुल र डायनामिक स्कुल(२ः०० बजे) र चौथो खेल होलिल्यान्ड मावि र ड्रिमल्यान्ड इङलिस मिडियम स्कुल(३ः३० बजे) हुने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको विजेता छात्र–छात्रा टिमले समान रुपमा २१ हजार र उपविजेताले ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।