यी हुन् नेपालगञ्जको विकासमा टेवा पुग्ने प्रमुख क्षेत्र

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रको आर्थिक विकासमा टेवा दिने प्रमुख क्षेत्र र आर्थिक क्षेत्रका मूल्य श्रृंखलाहरुको पहिचान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा जर्मन सरकारको प्राविधिक सहयोगमा स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाअन्तर्गत पहिलो चरणको कार्य प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषण कार्यक्रम सम्बन्धी सूचनामूलक प्रारम्भिक गोष्ठीमा यसको पहिचान गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा भएको कार्यक्रमका नगर प्रमुख डा. धवलशमशेर राणाले नेपालगञ्जको आर्थिक विकास व्यापार, उद्योग, शिक्षा, स्वास्थ्य र पर्यटन खम्बाको रुपमा रहेको बताउनुभयो ।
‘नेपालगञ्जको आर्थिक विकासका लागि सबैभन्दा बढि लाभदायक क्षेत्रको पहिचान गर्न अति आवश्यक छ, नगर प्रमुख राणाले भन्नुभयो, यसखालका कार्यक्रमले भविष्यको बाटो निर्धारण गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।’
उपप्रमुख मगरले कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै प्रस्पिर्धात्मक लाभको सहभागितामूलक विश्लेषणले नेपालगञ्जको आर्थिक विकासको स्पष्ट मार्गचित्र कोर्नेमा बिश्वस्त भएको बताउनुभयो । यसबाट प्राप्त मार्गदर्शनलाई नगर सभामार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाका सल्लाहकार क्रिस्टियनले विभिन्न देशहरुको अनुभवको आधारमा स्थानीय स्रोत, साधनको कुशलतापूर्वक परिचालन गर्नका लागि यो विधि महत्वपूर्ण हुने बताउनुभयो । परियोजनाका प्रतिनिधि रामचन्द्र लामिछानेले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । सहजीकरण डा.तेजहरि घिमिरेले गर्नु भएको थियो ।
प्रदेशसभा सदस्य मो. याकुब अन्सारी, नेपालगञ्ज उपमहानगरपालिका सुशासन समितिका अध्यक्ष नरबहादुर बिष्ट, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी लगायतले मन्तव्य राख्नुभएको थियो । यो परियोजना प्रदेश ५ का ३ सहित देशका ११ स्थानीय तहमा कार्यान्वयनमा छ ।


error: यो सुविधा उपलब्ध छैन !