सहकारी घोटालामा १९ जनालाई अधिकतम सजाय र जरिवाना


नेपालगञ्ज – जिल्ला अदालत, बाँकेले सहकारी वित्तिय संस्था लिमिटेड, नेपालगञ्जको घोटाला प्रकरणमा १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ ।
न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जनालाई एक वर्षदेखि पाँच वर्ष कैद सजाय, चालिस हजारदेखि पचास हजारसम्म जरिवाना तोकेको छ ।
अदालतले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्य विक, लिलाप्रसाद वली, सुरतराम खटिक, किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ । गौरव श्रेष्ठ र बलराम यादवलाई चार वर्ष कैद र चालिस हजार जरिवाना गरिएको छ । रविन्द्र थापालाई तीन वर्ष कैद र पचास हजार जरिवाना, सिद्दिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद र पचास हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पचास हजार जरिवाना, शारदाकुमारी थापामगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पचास हजार जरिवाना तोकिएको छ ।
बाँकेको बहुचर्चित यो सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ४३ करोड घोटालामा अरुले सफाई पाएका छन् । सात जना अहिले पनि कारागारमा रहेका छन् । अरु धरौटीमा छुटेका थिए ।
११ हजार ८ सय ४ जना निक्षेपकर्ता रहेको सहकारी ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । त्यसयता पीडितहरु निरन्तर सडकमा रहेका छन् । सहकारीमा ठगिएका एक दर्जन पीडितको यो बीचमा मृत्यु भइसकेको छ । पीडित संघर्ष समितिका सहसंयोजक आशुतोष शुक्लाले अदालतको आदेशले पीडितलाई केही खुशी तुल्याएको बताउनुभयो । शुक्लाले भन्नुभयो, ‘अब अदालतले तोकेको जरिवाना र बिगो रकम तिर्न आएमा सहमति हुन सक्छ ।’


error: यो सुविधा उपलब्ध छैन !