कृृषि सामाग्री प्रर्वधन शमशेरगञ्जमा कृषि मेला


राप्तीसाेनारी – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ शमशेररगञ्जमा शुक्रबार कृषि मेला गरिएको छ । नेपाल बीउ तथा मल परियोजना एनसाफको आयोजना र राप्तीसोनारी गाउँपालिका, उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रको सहकार्यमा अमेरिकी सहयोग युएसएआइडीको सहयोगमा सिमिटले मेला गरेको हो ।

मेलाको उद्घाटन गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले गरेका थिए । मेलामा सहभागी लुम्विनी प्रदेशका सहरी विकास मन्त्री कृष्णा केसी नमुनाले कृषिलाई व्यवसायिक गराउन आवश्यक रहेको औल्याइन् । कृषिलाई व्यवसायिक नगराउँदासम्म किसानहरुले भनेजस्तो प्रतिफल लिन नसक्ने उनको भनाइ थियो । बजारमा उपलब्ध गुणस्तरीय कृषि सामाग्रीहरु बीउ, मल, बाली संरक्षण, सिंचाइँ, कृषि उपकरणमा किसानको सहज पहुँच स्थापित गर्न मेलाले राम्रो सन्देश दिएको सहरी विकास मन्त्री नमुनाको भनाइ थियो । उनले कृषि तथा रोजगारका क्षेत्रमा आफुले सक्दो काम गर्ने प्रतिबद्धता   जनाइन् ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले कृषि उत्पादनलाई व्यवसायिक बनाउने योजनाका साथ पालिकाले काम गरिरहेको बताए । उनले पालिकाले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीलाई बढवा दिइरहेको बताए । ‘राप्तीसोनारी गाउँपालिकामा यस्तो मेला पहिलो पटक आयोजना गरियो यसले व्यवसायिक र प्रविधिमैत्री कृषि प्रणालीबारे किसानलाई जागरुक बनाउने काम गरेको अनुभूति भएको छ उनले भने, ‘यसले राप्तीसोनारीलाई कृषिमा आत्मनिर्भर बनाउनका निमित्त सकारात्मक सन्देश प्रवाह गर्ने काम गरेको छ ।’ उनले राप्तीसोनारीमै कृषि वीउविजनमा काम गर्दै आएका आधादर्जन बढी सहकारी समेत रहेकाले कृषि मेलाले ती सहकारीहरुको क्षमता अभिवद्धि र वीउविजन प्रचारमा सघाउ पुर्याउने उनको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाले किसानलाई जोड्ने गरी काम गरिरहेको पनि उनको भनाइ छ । कृषि शाखा तथा सहकारीमार्फत किसानलाई रासायनिक मल, वीउविजन, सिंचाईदेखि प्राविधिक सहयोग गर्दै आएको पनि उनले बताए । उनले किसानको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमसँगै सामुहिक खेती प्रणालीतर्फ उनीहरुलाई आकर्षित गर्ने खालका कार्यक्रम पनि पालिकाले गर्दै आएको उनले बताए । उनले कृषि उत्पादनलाई व्यवसायिक बनाउन पालिकाले खोजिरहेको पनि बताए ।

परियोजनाका म्यानेजर डा.नारायण प्रसाद खनालले किसानलाई गुणस्तरीय कृषि सामाग्रीको पहुँच बढाउन मेला आयोजना गरिएको बताए । उनले बाझो जमिन राख्न नहुने सन्देश प्रवाह गर्न पनि मेला उपयोगी हुने धारणा व्यक्त गरे । ‘हिउँदेवाली भित्र्याएपछि करिव २ लाख हेक्टर जमिन बाँझो रहन्छ उनले भने, योबीचमा बाझो जमिनमा बसन्ते खेतीबाट किसानलहरुले कसरी लाभ लिन सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि मेला आयोजना गरिएको हो ।’ कृषिलाई व्यवसायिककरण गर्नका निमित्त आवश्यक पर्ने, वीउविजन, मल, कृषि उपकरण, कृषि वीमालगायतका बारेमा किसानहरुले मेलाबाट जानकारी लिएको पनि उनले बताए ।

कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु, वडा नं.८ का वडाअध्यक्ष शालिकराम डाँगीको समेत सहभागिता रहेको थियो । बाँके, बर्दिया, काठमाडौं, भैरहवा लगायतका जिल्लाबाट नेपाल कृषि अनुसन्धान परिषद्, कृषि ज्ञान केन्द्र, एग्रिकल्चर टेक्नोलोेजी प्राइभेट लिमिटेड, विभिन्न जिल्लाबाट वीउ उत्पादक कम्पनी तथा सहकारी, फिड मिल, एग्रोभेट, मेसिनरी सप्लार्यस्, बैंक, इन्सोरेन्स कम्पनी, किसानलगायतको सहभागिता रहेको थियो । मेलामा २२ वटा स्टल थिए ।


error: यो सुविधा उपलब्ध छैन !