राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस नेता एवम् पूर्व पार्टी सभापति सनतकुमार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले त्यो बेलाको मिसन र अहिलेको सन्दर्भ फरक रहे पनि आपसी एकता, विश्वास र मिलमिलाप अहिले पनि जरुरी रहेको बताए ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेसका नेता एवम् प्युठानका पूर्व सभापति दिवाकर गौतम, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, जसपा बाँके अध्यक्ष एवम् नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले बोल्नुभएको थियो । दलहरुले आफ्नो चरित्र र कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै बक्ताहरुले अहिले राष्ट्रिय एकता र मेलमिलाप संकटमा परेको टिप्पणी समेत गरे ।
नेपाली कांग्रेस वडा नम्बर १२ का सभापति रामु चिडिमारले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन तथा संचालन सचिव सुधांशु कोइरालाले गर्नुभएको थियो । कार्यक्रममा उच्च अदालत नेपालगञ्ज बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला अदालत बारका अध्यक्ष मेहरसिंह खत्री तथा हालै भारतमा सम्पन्न ‘वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप’मा स्वर्ण पदक विजेता डा. प्रतिक श्रेष्ठ लगायत अन्य पदक विजेतालाई सम्मान गरिएको थियो ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन्, नेताहरुमाथि देशद्रोहको मुद्दा समेत लगाए ।
तर, २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । पार्टीका संस्थापक कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।