प्रेस युनियन बाँकेमा को होला अध्यक्ष ?
नेपालगञ्ज – नेपाल प्रेस युनियन, बाँकेको अध्यक्षका लागि रस्साकस्सी भएको छ ।
अध्यक्षमा तीन जनाले आकांक्षा देखाएपछि नेतृत्वका लागि रस्साकस्सी भएको हो । चेतकान्त भट्टराई, नविन गिरी र अर्जुन वलीले अध्यक्ष हुने चाहना राखेपछि सहमतिको प्रयास भइरहेको छ । प्रेस युनियनसम्बद्ध अगुवाहरु सबैलाई मिलाएर लैजाने ‘गोरेटो’ खोज्दैछन् ।
उद्घाटन सत्र सकिएसँगै नेतृत्वका लागि रस्साकस्सी भएको हो । नेतृत्व दावी गरेकाहरु सहमति नभए चुनावी प्रक्रियामा जाने ‘मुड’मा देखिएका छन् । यद्यपि, सहमति मै नेतृत्वको टुंगो लाग्ने अगुवाहरुले बताइरहेका छन् ।
यसअघि उद्घाटन सत्रमा कांग्रेस बाँकेका सभापति किरण कोइराला, प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, तारानाथ दाहाल, धर्मेन्द्र झा, समीरजंग शाहले लोकतन्त्र र प्रेस एक अर्काको परिपुरक भएको उल्लेख गर्दै लोकतन्त्रलाई दबाउन खोज्दा प्रेसजगत खतरामा परेको बताउनुभयो ।
नेपाल प्रेस युनियन, बाँकेको ११ औं अधिवेशनले सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तारानाथ दाहाल, पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कारबाट धर्मेन्द्र झा र जगन्नाथ गौडेल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दिपा आलेलाई सम्मान गरेको छ । सुशील कोइराला पत्रकारिता पुरस्कार २५ हजार ५ सय ५५, पन्नालाल गुप्त पत्रकारिता पुरस्कार २१ एक सय ११ र जगन्नाथ गौडेल राष्ट्रिय पत्रकारिता पुरस्कार ५ हजार ५ सय ५५ रुपैयाको रहेको छ ।
अधिवेशनमा प्रेस युनियन, बाँकेका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।