सहकारी पीडित प्रहरीको शरणमा
नेपालगञ्ज – बाँकेमा थप दुई ठूला सहकारीका पीडित जाहेरी लिएर प्रहरी कार्यालय, नेपालगञ्जमा पुगेका छन् ।
करोडौ रकम हिनामिना गरेर सञ्चालक फरार भएपछि बचतकर्ता प्रहरीको शरणमा पुगेका हुन् । प्रहरीले ठगिएका र जाहेरी दिन बाँकी रहेका अरु बचतकर्तालाई जाहेरी लिएर आउन सार्वजनिक सूचना जारी गरेको छ ।
गितेन्द्रबाबु राईलगायतले सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ३२ जना पीडित प्रहरी कार्यालयमा पुगेका छन् । केदारनाथ शर्मा अध्यक्ष रहेको शिव शिखर कृषि सहकारी संस्था लिमिटेडमा ३ हजार ४ सय २९ जनाले जाहेरी दिएका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले ठगिएका अरुलाई पनि जाहेरी दिन सार्वजनिक सूचना जारी गरेको र धेरै जना फोन सम्पर्कमा आएको बताउनुभयो । ‘हामीले सूचना निकालेपछि धेरै जनाले फोन गर्नु भएको छ । उहाँहरु जाहेरी लिएर आउँदै हुनुहुन्छ, प्रहरी प्रवक्ता डाँगीले भन्नुभयो ।
बाँकेकै अर्को सहकारीमा भएको ४३ करोड घोटालामा हालै अदालतले १९ जनालाई दोषी ठहर गरेको छ । पीडितले ४१ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।