अन्तरदेशीय कार्यशालामा सञ्जाल बनाएर अघि बढ्नु पर्नेमा जोड 


नेपालगञ्ज – मानव बेचबिखनविरुद्ध काम गर्ने नेपाल र भारतका अधिकारीले मानव बेचबिखन रोक्न बलियो सञ्जाल बनाएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका छन् ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति र माइती नेपालले आयोजना गरेको नेपाल र भारतका अधिकारी सम्मिलित अन्तरदेशीय कार्यशाला गोष्ठीमा सहभागीले दुई देशका बीचमा सञ्जाल बनाएर मानव बेचबिखनविरुद्ध काम गर्नुपर्ने बताए ।
उनीहरुले सूचना आदान प्रदान महत्वपूर्ण भएको बताउदै सञ्जाल बनाएर अघि बढ्दा रोकथाम, उद्धार र पुनस्र्थापनामा सघाउ पुग्ने बताए । नेपाल र भारतका सुरक्षा अधिकारीले बेलाबेलामा दुई देशीय बैठकहरु गरेजस्तै मानव बेचबिखनविरुद्ध पनि सरकारी, गैरसरकारी निकायसँगै नागरिकस्तरमा सञ्जाल बनाएर अघि बढ्नु पर्नेमा जोड दिइएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी एवं मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समितिका संयोजक श्रवणकुमार पोखरेलले मानव बेचबिखनको मुद्दा विश्वव्यापी भएकाले यसको विरुद्धमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, प्रहरी प्रमुख एसपी सुवासचन्द्र बाेहाेराले  नेपाल र भारतका नागरिकस्तरमा समेत सहकार्य र समन्वय भएमा राेकथाममा सहज हुने बताउनु भयाे ।

माइती नेपालका निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको स्वरुप फेरिएको र अहिले भारतमात्रै नभएर अन्य देशमा समेत बेचबिखन हुने गरेकाले त्यसलाई रोक्न सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।
क्राइम ब्रान्च दिल्ली पुलिसका पूर्व एसीपी सुरेन्द्रकुमार गुलिया र सीडब्लुसी दिल्लीका पूर्व प्रमुख एवं अधिवक्ता बरुण पाठकले  नेपालमा मानव बेचबिखनविरुद्धको नेटवर्क धेरै राम्रो रहेको बताउदै नेपालमा जस्तै भारतमा समेत बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।
बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्वारिका अधिकारी, माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालालगायतले नेपाल र भारतका अधिकारीका बीचमा हुने यस्ता कार्यक्रमले काम गर्न अझ सहज हुने र दुई देशका बीचमा सरकारी, गैरसरकारी र नागरिकस्तरमा सञ्जाल बनाएर अघि बढ्नु पर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !