बाल सुधार गृहमा तोडफोड र आगजनी, ११ जना घाइते, फरारको यकिन छैन

नेपालगञ्ज – बाँकेको बाल सुधार गृहमा थुनुवाका बीचमा आपसी झगडा हुँदा आगलागी र तोडफोड गरिएको छ । हानाहानमा एक दर्जन घाइते भएका छन् भने थुनुवा फरार भएका छन् ।
गएराती १० बजेतिर थुनुवाका बीचमा झगडा हुँदा बाल सुधार गृहमा तोडफोड र आगजनी गर्नुका साथै हानाहान भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । बाल सुधार गृहबाट घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्जस्थित मेडिकल कलेजमा ल्याइएको छ । बाल सुधार गृहबाट कति थुनुवा भागे भन्ने यकिन हुन सकेको छैन ।
बाँके प्रहरी प्रवक्ता डीएसपी डाँगीका अनुसार, बाल सुधार गृहमा २ सय ५४ जना थुुनुवा छन् । त्यसमध्येमा कति फरार भए यकिन हुन सकेको छैन । विहानसम्म प्रहरी बाल सुधार गृहभित्र जान सकेको छैन । थुनुवाहरु हातमा शिशा समातेर बसेका छन् ।
डुडुवा गाउँपालिकाको वडा नं. ६, आसमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा यसअघि पनि थुनुवाका बीचमा हानाहान हुँदै आएको थियो । धेरै पटक थुनुवा फरार भएका थिए । बाँके प्रहरी बाल सुधार गृहभित्र जाने र थुनुवाको अवस्था बुझ्ने प्रयासमै रहेको छ । भित्र रहेका थुनुवालाई गन्न नसकिदा कति भागे भन्ने यकिन हुन सकेको छैन ।


error: यो सुविधा उपलब्ध छैन !