लागु औषधी बोक्ने वर्षेनी बढ्दै
नेपालगञ्ज – बाँकेमा लागु औषधीको कारोबार बढ्दो क्रममा रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको तीन वर्षीय तथ्यांकले त्यस्तो देखाउँछ ।
बाँके प्रहरीले शनिबार र आइतबार लागु औषधीसहित पक्राउ परेका चार जनालाई सार्वजनिक गर्ने क्रममा दिएको तथ्यांक अनुसार लागु औषधी कारोबारी पक्राउ र मुद्दा संख्या वर्षेनी बढ्दै गएको देखिएको हो ।
एसपी बीरबहादुर ओलीका अनुसार, चालु आर्थिक वर्षको हालसम्ममा लागु औषधमा एक सय ८ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ भने १ सय ५९ जना पक्राउ परेका छन् । त्यसमा ५ महिला र ६ जना भारतीय छन् । प्रहरीले यो अवधिमा ६ सय ८ ग्राम ७ सय ४५ मिलिग्राम ब्राउनसुगर, ९ सय ९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७ सय ७५ ग्राम गाँजा, तीन सय एमएल कोरेक्स, दुई हजार ६ सय १२ ट्याब्लेट नाइट्राजेपाम, २ सय ९५ एम्पुल लागु औषधी बरामद गरेको छ ।
सीमावर्ती जिल्ला भएकाले बाँकेलाई लागु औषधीको ट्रान्जिट प्वाइन्ट मान्ने गरिन्छ । सीमावर्ती भारतीय बजारमा सजिलै पाइने भएकाले नेपाली युवाको लागु औषधीमा पहुँच पुग्ने गरेको छ । बाँके प्रहरीका अनुसार, आर्थिक वर्ष २०७५÷७६ मा लागु औषधमा २ सय ४९ वटा मुद्दा चल्दा ३ सय ७६ जना पक्राउ परेका थिए । आव २०७४÷७५ मा १ सय ४५ मुद्दा चल्दा ३ सय १० जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७३÷०७४ मा १ सय ३७ मुद्दा चल्दा १ सय ८० जना पक्राउ परेका थिए । प्रहरीको त्रिवर्षीय तथ्यांकलाई हेर्दा लागु औषधीमा मुद्दा चल्ने र पक्राउ पर्ने संख्या बढ्दै गएको देखिन्छ ।
बाँके प्रहरी र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले जमुनाहा नाकामा चौविसै घण्टा निगरानी, जाँच गर्ने गर्दछ । ब्यूरोको टोलीले दैनिकजसो नै लागु औषधी कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गर्ने गरेको पाइन्छ ।