विश्व खाद्यको चामल पुनः जाँच गर्न भन्सार विभागको निर्देशन

नेपालगञ्ज – भन्सार विभागले विश्व खाद्य कार्यक्रमको चामलको पुनः जाँच गर्न निर्देशन दिएको छ ।
माघ १५ गते नेपालगञ्ज भन्सारमा आइपुगेको विश्व खाद्यको ५४ हजार किलो चामल गुणस्तरहीन देखिएपछि त्यसै थन्किएको थियो । भन्सार विभागले पुनः एकपटक जाँच गर्न निर्देशन दिएसँगै नेपालगञ्ज भन्सार कार्यालयले चामलको जाँचका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जमा स्याम्पल पठाएको छ । माघ १७ गते यही कार्यालयले उक्त चामल आयात गर्न नमिल्ने गुणस्तरहीन रहेको प्रमाणित गरेको थियो ।
नेपालगञ्ज भन्सार कार्यालय, नेपालगञ्जका सूचना अधिकृत डिल्लुप्रसाद शर्माले भन्सार विभागले जनस्वास्थ्य र वातावरणमा कस्तो असर गर्छ । आयात गर्न मिल्छ कि मिल्दैन भन्ने जाँच गर्न निर्देशन दिएबमोजिम चामल जाँच गर्न पठाइएको जानकारी दिनुभयो ।
डब्लुबी ०३ डी ०१०७, डब्लुबी ११ सी ५९६०, एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनरमा ल्याइएको चामल अस्वभाविक गन्ध आएको छ भने पुरै भिजेको छ । प्रज्ञापन पत्र नम्बर २२१५ बाट नेपालगञ्ज ल्याएको चामल कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली पठाउन थालिएको थियो । चामल अहिले नेपालगञ्ज भन्सार परिसरको गोदाममा थन्किएको छ ।


error: यो सुविधा उपलब्ध छैन !