अध्यक्ष शाहलाई भेरी अस्पतालमा स्वागत
नेपालगञ्ज – भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका विरेन्द्रबहादुर शाहलाई आज अस्पतालले स्वागत गरेको छ ।
आगामी ३ बर्षीय कार्यकालका लागी नेपाल सरकार स्वास्थ्य मन्त्रालयले शाहलाई अध्यक्षको जिम्मेवारी दिएको हो । नेपाल सरकार मन्त्रीपरिषदको असार १७ गतको निर्णय अनुसार अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३(२)(क) र उपदफा (३)मा भएको ब्यवस्था अनुसार शाहलाई अध्यक्ष नियुक्त गरिएको बुझिएको छ ।
नेपालगञ्ज वडा नं.१३ निवासी शाह वि.सं. २०७४सालको स्थानीय तह निर्वाचनबाट नेपालगञ्ज वडा नं. १३ को वडा अध्यक्ष निर्वाचित भई ५ बर्षे कार्यकाल पुरा गरिसकेका छन् ।
२०२६ साल चैत्र २५ गते जन्मिएका शाहले ०४२सालमा मंगल प्रसाद माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका छन् । सन् १९८८मा भारतको लखनऊ स्थित जयनारायण इण्टर कलेजबाट प्रमाणपत्र उत्तीर्ण गरेका शाह लामो समयदेखि नेपाली कांग्रेसको भातृ संगठन तरुण दल बाँकेको अध्यक्ष छन् ।
यस अघि नेपाली कांग्रेसको जिल्ला कार्य समिति सदस्य रहि सकेका शाहले त्रिभुवन विश्व विद्यालय अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट वि.सं. २०५० सालमा बि.ए. सम्मको अध्ययन पुरा गरे,शाह एमएमा अध्ययनरत छन् ।
कांग्रेस बाँकेमा लोकप्रिय रहेका शाहलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले विकास समिति अध्यक्ष चयन गरेका हुन् ।
अध्यक्ष नियुक्त भएसँग संक्षिप्त प्रतिक्रिया दिंदै शाहले भने-‘दिईएको जिम्मेवारी पुरा गर्नेछु,प्रचलतित ऐन कानुन र विधि प्रक्रियालाई टेकेर यो क्षेत्रकै पुरानो अस्पतालको सर्वाङ्गीण विकासमा ध्यान दिनेछु ।’