कोहलपुरलाई हरित सहर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

कोहलपुर – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिबद्धता जनाउनु भएको छ ।
रास्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति अन्तरगत बाँकेको कोहलपुरस्थित कोहलपुर-नेपालगञ्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म आज आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहर भन्दापनि कोहलपुरलाई हरियाली सहरको रुपमा चिनाउनु पर्ने बताउनुभयो । अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ उहाँले भन्नुभयो-कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ । उहाँले त्यसका लागि नगरबासीको पनि सहयोग हुन जरुरी रहेको औंल्याउनुभयो । बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा होइन संरक्षण महत्त्वपूर्ण कुरा हो उहाँले भन्नुभयो-संरक्षणमा स्थानीयबासीले सहयोग गर्नु पर्‍यो ।
उहाँले घर-घरमा रोप्ने बिरुवा र सडक-सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षरोपण गर्न पनि सुझाव दिनुभयो । नगरलाई हरित नगर बनाउनुको विकल्प छैन उहाँले भन्नुभयो-तर बोटबिरुवा रोप्दा जनताले रुचाएका बिरुवा रोप्नु पर्छ । यसले बिरुवा संरक्षणमा स्थानियको चासो बढ्छ । उहाँले घरमा फलफूलका बिरुवा रोप्न सुझाव दिंदै यसले पोषणमा पनि सुधार ल्याउने धारणा व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सदस्य संजुकुमारी चौधरीले कोहलपुरलाई हरित नगर बनाउने सवाल प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै रोपिएका बिरुवाको संरक्षण र सम्बर्द्धनमा स्थानीय सरकारले जोड दिनु पर्ने बताउनुभयो ।
अर्का प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले कोहलपुर नगरपालिकामा थालिएको हरित नगर अभियानले कोहलपुरलाई नमूना सहर बनाउन टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । बिगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भएपनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याव परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिनुभयो । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिंदै उहाँले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उहाँले नगरबासीलाई आह्वान समेत गर्नुभयो ।
नगर उपप्रमुख संगीता सुवेदी, रास्ट्रपति चुरे-तराई मधेस संरक्षण समितिका वोर्ड सदस्य भेषराज आचार्य, रास्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन ईकाइ कैलालीका प्रमुख हरिबंश आचार्य लगायतले बोल्नु भएको थियो । उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको नगर प्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिनुभयो ।
कोहलपुर नगरपालिकाको ३ लाख २५ हजार, रास्ट्रपति चुरे-तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन ईकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्शालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !