‘मेरो छोरी चाहियो’

नेपालगञ्ज – बाँके होलियाका नारायण कुर्मी दम्पतिले आफ्नो १९ वर्षीया छोरी रेश्मालाई आफन्ती र गाउँका अगुवाले मिलेर बेपत्ता बनाएको आरोप लगाएका छन् ।
नारायणकी श्रीमती सिपुरीले बैशाख २ गतेदेखि छोरीलाई बेपत्ता बनाएको बताउनुभयो । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै नारायण दम्पतिले आफ्नो छोरी ल्याइदिन आग्रह गरे ।
आमा सिपुरीका अनुसार, छोरीको रेश्माको गंगापुरमा विवाह भएको थियो । श्रीमानको मृत्यु भएपछि माइती घरमा आएर बसेकी थिइन् । माइतीमा बसेकी छोरीलाई आफन्ती पर्ने केतिया कुर्मी, आरती, पवन, दिनेशले फकाएर भारतमा लगेर विवाह गरिदिएका छन् ।
रेश्मालाई भारत बहराइच जिल्ला अजकवा गाउँका इन्द्रजित कुर्मीको छोरासँग विवाह गरिदिएको आमा बुवाले थाहा पाएका छन् । तर, छोरी ज्वाईसँग भेट्न पाएका छैनन् । आमा सिपुरीले भन्नुभयो, ‘छोरीको विवाह गरिदिएको भन्ने सुनेको छु । विवाह गरिदिएका हुन् कि बेचिदिएका हुन् थाहा छैन । मेरो छोरी मलाई चाहियो ।’
रेश्मालाई इन्द्रजितका छोरासँग विवाह गर्नका लागि होलियाका नेता एवं पूर्वप्रदेश मन्त्री विजय यादवले पनि सहयोग गरेको नारायण दम्पतिको आरोप छ । रेश्माको विवाह खर्च भनेर दिनेशमार्फत आएको ६० हजार भारतीय रुपैया विजयले बुझेको उनीहरुले बताए । नारायण दम्पति छोरी फिर्ताका लागि कानुनी प्रक्रियामा जाने तयारीमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !