लुम्बिनीबाट नवलपरासीका धेरै जना विदेशमा

नेपालगञ्ज – लुम्बिनी प्रदेशमा नवलपरासीबाट धेरै व्यक्ति विदेशमा रहेको पाइएको छ ।
आर्थिक वर्ष २०७८-७९ मा लुम्बिनीबाट एक लाख १३ हजार ५ सय ६१ ज्नाले श्रम स्वीकृति लिएकोमा नवलपरासीका २० हजार ९ सय ७३ जना रहेका छन् । रुपन्देही १९ हजार ८९ जना, दाङ १२ हजार ७ सय २६, गुल्मी १० हजार ६ सय ८६ जना रहेका छन् । यो प्रदेशबाट विदेश बढी जानेमा बाँके पाँचौ नम्बरमा परेको छ । बाँकेबाट ८ हजार ९७ जना विदेश गएका छन् । सबैभन्दा कम रुकुमबाट ४ हजार २ सय ४७ जना विदेश गएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीका अनुसार, नेपालबाट दैनिक सरदर दुई हजार पाँच सय जना मानिस विदेश गइरहेका छन् । भारतमा जानेको तथ्यांक कसैले राखेको छैन । न त भारत हुँदै तेस्रो मुलुकमा पुग्ने महिलाको नै तथ्यांक छ ।
बाँकेको आठवटामध्ये चार वटा पालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा र बैजनाथ गाउँपालिकामा सञ्चालित कार्यक्रमले सूचना सम्प्रेषण, मनोसामाजिक परामर्श, वित्तिय साक्षरता, न्यायमा पहुँच र सीप विकास तालिम दिने गरेको छ ।
२०६७ सालमा दुई जिल्लाबाट काम गर्न शुरु गरेको सामी कार्यक्रम अहिले ३९ जिल्लाको एक सय ५६ वटा पालिकामा सञ्चालनमा रहेको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले जानकारी दिनुभयो ।
सामीले सही सूचना र सीप सिकेर विदेश जान सल्लह दिने, समस्यामा परेकालाई कानूनी सहायता गर्ने, मनोसामाजिक परामर्श दिने, विदेशमा कमाएको पैसाको व्यवस्थापन गर्न सिकाउने, सीपमूलक तालिम दिने गरेको छ ।
नेपालगञ्जकी मनोसामाजिक परामर्शदाता पूजा भण्डारीले आत्महत्याको प्रयास गरेकालाई मनोसामाजिक परामर्श दिएर बचाएको उल्लेख गर्नुभयो । यो वर्षमा जिल्लामा ६४ जनालाई मनोसामाजिक परामर्श दिइएको थियो ।
वित्तिय साक्षरता सहजकर्ता कोहलपुरकी अनिता जिसी रावतले विदेशमा कमाएको पैसा व्यवस्थापन गर्न सिकाइरहेको बताउनुभयो । विदेशको कमाईलाई घरमा राम्ररी हिसाव नराख्दा घरपरिवारमा विखण्डन आउने भएकाले त्यसलाई सही तरिकाले राख्न सिकाउने गरेको रावतको भनाई थियो ।


error: यो सुविधा उपलब्ध छैन !