भारतीयको भीड हुने फत्तेबाल आँखा अस्पताल
नेपालगञ्ज – नेपालगञ्ज नाकाबाट दैनिक ठूलो संख्याका बिरामी भारतको लखनऊमा उपचार गर्न जान्छन् । स्वास्थ्यमा पश्चिम क्षेत्रको ‘रिफरल’ सेन्टर नेपालगञ्जलाई मानिन्छ । यहाँबाट रिफर हुने भनेको भारतीय शहरमा नै हो । केही काठमाडौं जान्छन् ।
आम रोगका विरामीको उपचार गन्तब्य भारतीय शहर बनिरहेको बेलामा आँखाको उपचारका लागि भने भारतीयकै रोजाई नेपालगञ्जको फत्तेबाल आँखा अस्पताल हुने गरेको छ । वार्षिक डेढ लाखबढीको उपचार गर्ने फत्तेबालले त्यसको ४० प्रतिशत भारतीयलाई सेवा पु¥याउने गरेको छ । ‘अहिले ४० प्रतिशत भारतीय र ६० प्रतिशत नेपालीले उपचार लिइरहेका छन् । केही अघिसम्म ६० प्रतिशत भारतीय थिए र ४० प्रतिशत नेपाली थिए, अस्पतालका प्रवन्धक डा. कौशलकुमार बर्माले भन्नुभयो, गाउँगाउँमा शिविरहरु लिएर जादा नेपालीको पहुँच बढेको छ । भारतीयहरु अस्पतालमै आएर उपचार गराउँछन् ।’
फत्तेबाल आँखा अस्पताल २०४३ साल फाल्गुन ११ गते स्थापना भएको हो । कप्तान फत्तेजंग शाहले प्रदान गरेको घरजग्गाबाट अस्पतालको शुरुवात गरिएको थियो । १० बेडबाट शुरु भएको अस्पताल अहिले २ सय ५० बेडमा पुगेको छ । अस्पतालअन्तर्गत विभिन्न जिल्लामा ६ वटा आँखा उपचार केन्द्र सञ्चालित छन् । पहिलो वर्ष नै ४ हजार ५ सय ६९ जनाको उपचार गरेको अस्पतालले २०७५÷०७६ मा एक लाख ४५ हजार ९ सय ३० जनालाई सेवा दिएको छ । नौ हजार ८ सय ५७ जनाको शल्यक्रिया गरेको छ । स्थापनाकालदेखि अहिलेसम्म अस्पतालले २१ लाख ९२ हजारको आँखा परीक्षण गरेको छ ।
पछिल्लो १८ वर्षदेखि दातृ निकायको अनुदान बिना चलेको अस्पतालले सेवामा निरन्तर सुधार, बिस्तार, आधुनिकीकरण र विविधिकरण गर्दै लगेको छ । प्रविधिको माग दिनानुदिन बढ्दो छ । अस्पतालका सभापति रतन टण्डनका अनुसार, अस्पतालले यस वर्ष आँखाको पर्दा एक्सरे, शल्यक्रियालाई भिडियो रेकर्ड गर्न माइक्रोस्कोपमा भिडियो रेकर्डर, पैथोलोजीका लागि आधुनिक माइक्रोस्कोपजस्ता उपकरणहरु जडान गर्नुका साथै आधुनिक फेको प्रविधिबाट गुणस्तरीय मोतिविन्दु अप्रेसन गरिरहेको छ ।
आँखासम्बन्धी सबै रोगको परीक्षण र औषधी उपचार, बालबालिकाहरुको आँखा उपचारका लागि विशेष विभाग, बन्द आँशुनलीको अप्रेसन तथा उपचारलगायतको अकुलोप्लाष्टि सेवा, मधुमेहको कारणले दृष्टिपर्दामा हुने खराबीको ग्रीन लेजरद्वार उपचार, एभाष्टिन इन्जेक्सनद्वारा दृष्टिपर्दाको उपचार, जलविन्दुको अप्रेसन, न्यून दृष्टि परमार्श सेवा, याग लेजरद्वारा उपचार, मोतिविन्दुको बिना टाँका तथा फेको प्रविधिबाट अप्रेसन, डेढो आँखाको अप्रेसनजस्ता मेजर अप्रेसनहरु र इन्ट्रोपियन, आँखामा मासु पलाएको, आँखाको नाली मर्मतसहित सबै किसिमको माइनर अप्रेसनहरु अस्पतालले गरिरहेको छ ।
अस्पतालको चुनौती पनि धेरै छन् । नेपालमा अझै पर्याप्त दक्ष र अनुभवी नेत्र विशेषज्ञको अभाव रहेकाले यस अस्पतालमा पनि सबै किसिमको विशेषज्ञ चिकित्सकहरुको अभाव रहेको छ । विशेषज्ञ विभागहरुका लागि आधुनिक महंगा उपकरणहरुको आफ्नै आयस्रोतबाट व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको छ । अस्पतालको खर्च निरन्तर बढिरहेको र अनुदानसमेत रोकिएकाले थप चुनौती बनेको छ ।
चुनौतीहरुका बाबजुद अस्पतालले सेवा क्षेत्रमा अन्धोपनको समस्या न्यूनीकरण गर्न निवारणत्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सेवालाई अझ प्रभावकारी बनाउने भावी लक्ष्य बनाएको छ । अस्पतालको सेवा क्षेत्र विस्तार गरी संख्यात्मक तथा गुणात्मक ओपीडी र शल्यक्रिया सेवालाई निरन्तर बृद्धि गर्दै जाने र फेको प्रविधिको अप्रेसनलाई अझ प्रवद्र्धन गर्ने, संभाब्यता अध्ययन गरी अस्पतालका विभिन्न विभागहरुलाई क्रमशः एयरकन्डिसन गर्ने, अस्पतालको सेवालाई बृहत्तर र प्रभावकारी बनाउन सामुदायिक कार्यक्रमलाई अझ बिस्तार गर्ने, परिवर्तित प्रविधि र विरामीको माग अनुसार सेवा सुविधामा सुधार र विविधिकरण गर्ने, थप उपकरणसहित आधुनिकीकरण गर्ने, अस्पताललाई विस्तारै शिक्षण संस्थाको रुपमा विकास गर्ने, आवश्यकता अनुसार चिकित्सक तथा कर्मचारीहरुलाई तालिम र अध्ययनको लागि पठाउने, समयको माग अनुसार अस्पतालको सेवालाई बिस्तारित, बिरामीमैत्री र प्रभावकारी बनाउने भावी लक्ष्य लिइएको छ ।
अस्पतालको शनिबार आयोजित २६ औं जिल्ला सभामा उपस्थित नेपाल नेत्रज्योती संघका अध्यक्ष प्राडा चेतराज पन्त, नेपाल नेत्रज्योती संघका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल, उपाध्यक्ष एवं ५ नम्बर प्रदेशका सभापति सागरप्रताप राणाले अस्पतालको बृद्धिविकासमा विभिन्न सुझावहरु दिएका छन् ।