हिमालयलाई क्रिसाको उपाधी
कोहलपुर – बाँकेको बैजनाथमा रहेको हिमालय विद्या निकेतनले क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितको उपाधी जितेको छ ।
कोहलपुर क्षेत्रका संस्थागत विद्यालयहरुको छाता संगठन क्रिसाले आयोजना गरेको ११ औं रनिङ्ग शिल्ड प्रतियोगितामा हिमाल विद्या निकेतनले लङजम्प छात्र र छात्रामा प्रथम, एक सय मिटर दौडमा छात्रतर्फ प्रथम, छात्रातर्फ द्वितीय, एक सय इन्टु चार मिटर दौडमा छात्रातर्फ प्रथम, छात्रतर्फ द्वितीय र चार ईन्टु चार सय रिले दौडमा छात्रतर्फ द्वितीय हुँदै उपाधी जितेको हो । क्रिसाले प्रतियोगिताको प्रथमलाई सम्मान गरेको छ ।
मार्चपासमा ग्रिनपिस प्रथम, साईनिङ्ग स्टार र नमूना विद्या सदन द्वितीय र बागेश्वरी एकेडेमी तृतीय भएका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा हिमालय विद्या निकेतनका अंकुश कुँवर र गोरखा युनाइटेडकी पूर्णिमा खड्का भएकी छन् भने विद्यालय तर्फ पञ्चमुखी माविलाई सम्मान गरिएको छ । शनिबार सम्पन्न भलिबल माविअन्तर्गतको छात्रतर्फ दीपज्योति मावि चिसापानी प्रथम, भेरी फ्युचर मावि द्वितीय र तक्षशिला एकेडेमी तृतीय भएको छ भने छात्रातर्फ साईनिङ्ग स्टार मावि प्रथम, दीपज्योति विद्या निकेतन द्वितीय र प्रयत्न मावि तृतीय भएको छ ।
समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले स्थानीय सरकारले खेलकुदको विकास र समृद्विका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै खेलकुदका माध्यमबाट कोहलपुरलाई चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । क्रिसाका अध्यक्ष शिवप्रसाद डाँगीले ११ औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितालाई सम्पन्न गर्ने शिक्षक, अभिभावक, विद्यार्थी गायतलाई धन्यवाद व्यक्त गर्दै क्रिसाले विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहीत प्रतिभालाई बाहिर ल्याउने काम गरिरहेको बताउनुभयो । क्रिसामा आवद्ध ३३ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए ।