निकुञ्जमा बोरिङसहितका पोखरी
नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा पानीको अभाव टार्नका लागि धमाधम कृत्रिम पोखरी निर्माण गरिएका छन् । वन्यजन्तुलाई पानी खुवाउनका लागि सिमसार क्षेत्रको संरक्षणदेखि बोरिङसहितका पोखरी निर्माण गरिएको छ । कतिपय पोखरीमा सोलार जडान गरिएका छन् ।
बाघ संरक्षणका लागि स्थापना गरिएको यो निकुञ्जमा ८० वटा पोखरी निर्माण भइसकेको छ । बाँके राष्ट्रिय निकुञ्जमा अहिले २५ वटा बाघ छन् । यहाँ संरक्षित जनावर चौका प्रशस्त छ । आहारा प्रजातीका जनावरको बृद्धि भइरहेको छ ।
निकुञ्जमा घाँसे मैदान बनाइएको छ । पानी, घाँस र आहारा प्रजातीका जनावरको बृद्धिले निकुञ्जको सौन्दर्य बढाएको छ । निकुञ्जभित्रको छोटो यात्रामै जनावर देखिने गरेको छ ।
निकुञ्जभित्र पानी बग्ने ४५ वटा खहरे खोला पर्छन् । यो खहरे खोलामा वर्षायाममा मात्रै पानी हुन्छ । हिउँदमा सुख्खा हुन्छन् । निकुञ्जमा पानीको अभाव ठूलो समस्याको रुपमा रहदै आएको छ । निकुञ्ज आफैले पानीको समस्या समाधान गर्न लागि परेको छ । संरक्षणमा काम गर्ने तराई भूपरिधि कार्यक्रम (ताल) जस्ता आयोजनाले निकुञ्ज र मध्यवर्तीमा पोखरी बनाउन सहयोग गरेको छ । तालका कार्यक्रम सहप्रवन्धक कमराज राईले वातावरण, वन्यजन्तु संरक्षण, जैविक विविधतामा निकुञ्जसँग मिलेर काम गरिरहेको बताउनुभयो । तालले गतवर्ष निकुञ्जलाई ४० लाख बराबरको सहयोग गरेको थियो । त्यसमा तीन वटा पोखरी निर्माण गरिएको छ ।
२०६७ सालमा स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा ८० वटा पोखरी, दुई सय किलोमिटर वनपथ, चार सय हेक्टरमा घाँसे मैदान रहेको वार्डेन श्यामकुमार साहले जानकारी दिनुभयो । यो निकुञ्ज ५७ औं पर्यटकीय गन्तब्यमा सूचीकृत रहेको छ । प्रचार प्रसारको अभावले अहिलेसम्म पर्यटकको उपस्थिति भने बढेको छैन ।
वन्यजन्तुलाई संरक्षण गर्ने उपायहरु अपनाइरहदा सवारी साधनको ठक्करबाट मृत्यु हुने क्रम रोकिएको छैन । आर्थिक वर्ष २०७८-७९ मा ५१ वटा जनावरको मृत्यु भएको थियो । ४३ वटाको उद्धार गरिएको छ ।
यो निकुञ्ज ७० किलोमिटर पूर्वपश्चिम राजमार्ग र २३ किलोमिटर रत्न राजमार्गमा पर्दछ । निकुञ्जभित्र प्रतिघण्टा ४० किलोमिटरको हिसावले सवारी चलाउने नियम लगाइएको छ । तर पनि जनावर सवारी साधनको जोखिममा पर्ने गरेका छन् । निकुञ्जमा डढेलो अर्को समस्याको रुपमा रहेको छ । मध्यवर्ती क्षेत्रका उजाड जमिनमा बृक्षरोपण गरिएका छन् ।