डुडुवामा नयां भवनबाट काम शुरु


डुडुवा – नवनिर्मित बाँके डुडुवा गाउँपालिकाको अत्याधुनिक प्रशासनिक कार्यालय भवनमा स्थानान्तरण भएको छ । भुकम्प प्रतिरोधात्मक लिफ््टसहितको निर्माण सम्पन्न नयाँ भवनमा स्थानान्तरण गरिएको हो ।

बुधबार नयाँ कार्यालय भवनमा गृह प्रबेशको विशेष पुजापाठ गरि स्थानान्तरण गरिएको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी शुभसाईतमा पूजा गर्नुभएको छ । गाउँपालिकामा हिन्दु र इस्लाम धार्मिक परम्पराअनुसार छुट्टाछुट्टै पूजा गरिएको थियो ।
आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीको नेतृत्वमा आचार्य गौनन्दन शास्त्रीजी महाराज, आचार्य मुकुन्द, तिरथराम पाठक र सिता शर्मालगायत ७ जनाले बैद्धिक विधीअनुसार पूजा गराउनुभएको थियो । यसैगरि इस्लाम धर्मका मौलाना र मुक्तीद्धारा पनि शुभसाईतमा पूजापाठ गरि भवनबाट कार्यालयको सेवा शुरु भएको छ ।
भवनले गाउँपालिकाको काम काजमा निकै सहजता उत्पन्न गराउने र सेवाग्राहीलाई अझ बढी गुणस्तरिय सेवा प्रदान गर्नमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पालिकाका कर्मचारीहरुलाई सेवा प्रवाह गर्नमा सहजता भएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो,“कार्यालय भवनको अभावमा कर्मचारीलाई बस्न समस्या छ, यसले कर्मचारी र सेवाग्राहीविचको सम्वन्ध समेत दुरी बनाएको थियो, त्यसैले यो नयाँ भवनले सेवा प्रवाहमा सहजता हुन्छ उहाँले भन्नुभयो । पालिकालाई सवारी साधन, विभिन्न इकुमेन्ट, मेसिन, औषधी स्टोरलगायत व्यवस्थापन गर्ने समस्या अब अन्त्य भएको छ ।
वडा नं. ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १३ करोड २६ लाखको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भएको प्राविधिक शाखा प्रमुख सुरेन्द्र बर्माले बताउनुभयो । उहाँका अनुसार चार तल्ले भवनमा ५ सय जना क्षमता भएको ठुलो सभागृह, बैठक कक्ष, न्यायका लागि इजलास कक्ष, ३२ वटा कार्यालय कोठा, स्टोर कोठा, शौचालय, बाउण्ड्री, ठूला तथा साना सवारी साधनका लागि पार्किङ्ग, प्ले ग्राउण्ड, सेवाग्राहीका लागि प्रतिक्षालय, सुरक्षा गार्ड रुम र लिफ््टसहितको भवन निर्माण भएको छ ।
गाउँपालिकाको भवन अपाङ्गमैत्री, बालमैत्रीसंगै अत्याधुनिक फाउन्टेनको व्यवस्थापन गरिएको छ । रोयल कन्स्ट्रक्सन धनगढीले सम्झौता गरेको अवधीभित्र नै भवन निर्माणकाे कार्य सम्पन्न गरेको छ ।

यसैबीच,
डुडुवा गाउँपालिकाले रक्तदान महादान अभियान पनि शुरु गरेको छ । मानवको जीवन रक्षाका लागि सामाजिक उत्तरदायित्वको भावनाका लागि यो अभियान शुरु गरेको गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीले भन्नुभयो, “रगतको व्यवस्था गर्न दैनिक सेवाग्राहीको फोन आउछ, तर गाउँपालिकासंग रगत छैन, त्यसैले व्यवस्थापन कठिनाई भएपछि यो अभियान शुरु गरेको छु ।”
गाउँपालिकाले आज गरेको बृहत रक्तदान कार्यक्रममा एक सय २५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक कौशलकुमार कैरातीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला, शिक्षक, विद्यार्थी, स्थानीय लगायतले रक्तदान गरेका थिए ।
रक्तसञ्चार केन्द्र ब्लड बैंक कोहलपुरका प्रमुख राजेन्द्र महतराको नेतृत्वमा ५ प्राविधिक, गाउँपलिकाका स्वास्थ्यकर्मी लगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजका मनमोहन बर्मा, माधवराम बर्मा, पवन जायसवाल, भिष्म लोध लगायतले सहयोग गर्नुभएको थियो ।
गाउँपालिकाभित्र गरिब तथा असहायलगायतका विरामीहरुलाई रगतको व्यवस्थापनका लागि अब गाउँपालिकाले नियमित रुपमा बृहत रक्तदान कार्यक्रममार्फत रगत संकलन गर्नेछ । गाउँपलिकाको नवनिर्मित भवनमा रक्तदान कार्यक्रम गरिएको हो ।


error: यो सुविधा उपलब्ध छैन !