खजुरामा धार्मिक महिमाको प्रचार गर्न महायज्ञ
खजुरा – बाँकेको खजुरामा फागुन २४ बाट हुने सप्ताहब्यापी महायज्ञको तयारीलाई तिब्र पारिएको छ । खजुरामा रहेको साक्षात लक्ष्मीनाराण मन्दिरको महिमाको प्रचार गर्ने र खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको हव बनाउने उद्देश्यका साथ आयोजना हुने महायज्ञमा प्रख्यात कथावाचक बालकृष्ण अर्यालले भागवत कथा प्रवचन गर्ने भएका छन् ।
वाचक अर्याल सहित उनको संगितमय भजन टोलीबाट सातै दिन अखण्ड भजन किर्तन हुने महायज्ञ सम्पादन समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । महायज्ञ संचालन गर्नका लागि १२ बढी उपसमितिहरु बनेका छन् भने प्रचार सामाग्रीहरु पनि धमाधम तयार भइरहेको उनले बताए ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका संकल्पकर्ता दीनदयाल जी महाराजको संयोजकत्वमा महायज्ञ गरिने मूल समितिका सचिव सुरेश खत्रीले बताए ।
खजुरा क्षेत्रमा रहेका ऐतिहासिक मैटहवा मन्दिरदेखि रजनाहाको नारायणीताल, सन्तकुटी, कालिका, नवदुर्गा र मनकामनापुरको शिवालय मन्दिर समेतका धार्मिक स्थलहरुलाई एकीकृत धामकारुपमा विकास गर्ने र खजुरामा प्रसिद्ध लक्ष्मीनारायण मन्दिर परिसरमा महालक्ष्मीको विशाल मूर्ति स्थापना गर्ने महायज्ञको मुख्य उद्देश्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।
खजुराको लक्ष्मीनारायण मन्दिरमा संकल्प गरिएका हरेक कुराहरु सफल हुँदै आएको धार्मिक विश्वास छ । सोही मन्दिरमा संकल्प गरिएको ज्ञानोदय उच्च मावी, क्यान्सर अस्पताल, खजुरा खानेपानी, जनजागरण समाज जस्ता संस्थाहरु सफलताका साथ संचालनमा रहेको महायज्ञ पूजा व्यवस्थापन समितिका संयोजक शिवप्रसाद सुबेदीले बताए ।
दुनाटपरीदेखि दियोका सामाग्रीहरु तयार गर्न महिलाहरु घरघरबाट स्वस्फुर्त उपस्थित हुन थालेको मन्दिर व्यवस्थापन समिति सदस्य राधा ढकालले बताइन् ।
महायज्ञ संचालन गर्नका लागि २५१ सदस्सीय मूल सम्पादन समिति गठन गरिएको छ ।