एकै ठाउँका दुई जनाको संयोग : पालिका अध्यक्ष हार्ने, प्रदेशमा जितेर कृषिमन्त्री
नेपालगञ्ज – पालिका एउटै, पार्टी उही । दुवैजना गाउँपालिका अध्यक्षमा चुनाव हारे । लगत्तै प्रदेशमा चुनाव जिते । संयोग कस्तो भने दुवै जनाले सम्हाले उही मन्त्रालय, कृषि ।
यो बाँके डुडुवा गाउँपालिकाका भण्डारीलाल अहिर यादव र विजय यादवको प्रसंग हो । दुवै जनाले जसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव हारे । यो पनि संयोग नै थियो कि दुवै जना एउटै व्यक्ति कांग्रेसका नरेन्द्र चौधरीसँग हारेका थिए । लगत्तै दुवै जनाले प्रदेशमा चुनाव जितेर उही मन्त्रालय कृषि सम्हालेका छन् ।
भण्डारीलाल अहिर यादवले सोमबार लुम्बिनी प्रदेशको कृषि तथा भूमिसुधार मन्त्रीको शपथ खाएपछि यस्तो संयोग भएको हो ।
भण्डारीलाल डुडुवा–३, वनकट्टीका हुन् । पार्टी राजनीतिमा आउनु अघि भण्डारीलाल शिक्षक थिए । शिक्षक छोडेर उनले जसपाबाट वडाध्यक्ष जिते । गएको निर्वाचनमा भण्डारीलाललाई पार्टीले पालिका अध्यक्षको टिकट दियो । कांग्रेसका नरेन्द्र चौधरीले ६ हजार २ सय ७२ मत ल्याएर दोस्रो पटक अध्यक्ष जित्दा भण्डारीलाल ५ हजार १ सय २५ मतमा समेटिए ।
पालिका अध्यक्ष हारे पनि पार्टीले भण्डारीलाललाई प्रदेशको टिकट दियो । यो पटक भने भण्डारीलाललाई हराउने चौधरी उम्मेदवार थिएनन् । भण्डारीलालले ११ हजार ५ सय ४ मत ल्याएर प्रदेश सभामा जिते । बाँके क्षेत्र नं. २ को प्रदेश सभा (क) बाट भण्डारीलाल विजयी भएका थिए । यो निर्वाचन क्षेत्र भनेको नेपालगञ्जको केही वडा र डुडुवा गाउँपालिका समेटिएको छ ।
यही क्षेत्रमा यसअघिको निर्वाचनमा यस्तै संयोग भएको थियो । कांग्रेसबाट टिकट नपाएपछि विजय यादव जसपा प्रवेश गरेर पालिका अध्यक्षमा चुनाव लडे । कांग्रेसका चौधरीसँग पराजित भएपछि उनले प्रदेश सभाको टिकट पाए । प्रदेशमा ११ हजार ५ सय ७४ मत ल्याएर विजयी भए । त्यसपछि उनी कृषिमन्त्री भए । विजय अहिले एमालेमा छन् । गएको निर्वाचनमा उनी प्रदेश सभामा उम्मेदवार थिए । भण्डारीलालसँग नै पराजित भएका थिए ।
जसपाका संसदीय दलका नेतासमेत रहेका कृषिमन्त्री भण्डारीलाललाई काम गर्ने अवसर जुरेको छ । उनको आफ्नै घर रहेको डुडुवा गाउँपालिका राप्ती नदीको कटान, डुवान र पटानमा पर्ने ठाउँ हो । विगतमा चुनाव लड्दा कृषिसम्बन्धी उनले धेरै आश्वासन बाँडेका थिए । कृषि पकेट क्षेत्र घोषणा गरेर एक गाउँ, एक उत्पादन, मल, कृषि औजारमा अनुदान, कृषियोग्य भूमिको एकीकृत सम्पत्तिमा ५० प्रतिशत अनुदान छुट, साना किसानलाई ९० प्रतिशत, मझौला र ठूला किसानलाई ७५ प्रतिशत अनुदान चुनावमा भण्डारीलालले अघि सारेका योजनाहरु हुन् ।
कृषिमा निर्भर रहेको डुडुवा अनि राप्ती नदीको चेपुवामा परेको ठाउँ भएको र आफैले किसानका लागि अघि सारेका योजनाहरु पूरा गर्दा नै भण्डारीलालको ठूलो सफलता हुने डुडुवावासीको भनाई छ ।
बाँकेबाट जसपाका दुई जनाले प्रदेशमा प्रत्यक्ष र एक जना समानुपातिकमा परेका छन् । तीन जनामा मन्त्री हुने शौभाग्य भण्डारीलालले पाएका छन् । शपथ ग्रहण पछि भण्डारीलालले आफूले बलबुताले भ्याएसम्म राम्रो काम गरेर देखाउने प्रतिक्रिया दिनु भएको छ ।