रेडक्रसको ४१ औं जिल्ला अधिवेशन, नयाँ कार्य समिति चयन

नेपालगञ्ज – नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ ।

सभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नु भयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्षदेखि समुदायसंग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकारसंग प्रत्येक्ष समन्वय गर्दै आएको जानकारी गराउनु भयो ।

रेडक्रस बाँके तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्येक्ष लाभावन्ति भएको तथ्यांकगत विवरण सभा समक्ष पेश गर्नु भयो ।

रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब. २०७८-२०७९ बार्षिक २ करोड ४२ लाख ३४ हजार ४५२ रुपैया खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आ.ब. २०८०÷२०८१ को ३ करोड ५२ लाख २२ हजार ३७४ को प्रस्तावित बजेट प्रस्तुत गर्नु भयो थियो ।

४१औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मूल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ । यसैगरी रक्तसंचार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान पु¥याउनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. राजन पाण्डे र रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु¥याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्द्र्रलाई सम्मान गरिएको छ ।

रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

नयाँ कार्यसमिति चयन
उक्त अधिवेशनबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन समेत भएको छ ।
उक्त अधिवेशनबाट सभापतिमा पुनः गोवर्धन सिंह सम्झना निर्वाचित हुनु भएको छ । उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया, र सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्रेल, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित हुनु भएको छ ।

निर्वाचन अधिकारी नवराज ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नु भएको थियो।


error: यो सुविधा उपलब्ध छैन !