११ गतेदेखि हात्तीपाइलेको आम औषधी सेवन कार्यक्रम
नेपालगञ्ज – फाल्गुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सञ्चालन गरिदैछ । बाँकेमा यो १३ औं चरणको कार्यक्रम हो ।
स्वास्थ्य कार्यालय, बाँकेले बुधबार हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन अभियान सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया गरेको छ ।
बाँकेमा आर्थिक वर्ष २०६७-६८ देखि औषधी खुवाउन शुरु गरिएको थियो । यो वर्षमा जिल्लाको कभरेज ९१ प्रतिशत थियो । पहिलो वर्ष भएको केही असावधानी र वास्तविकता बुझाउन नसक्दा भएको दुर्घटनाले गर्दा त्यसपछि औषधी सेवनको कभरेज घट्दै गएको थियो । गतवर्ष जिल्लाको कभरेज ६८ प्रतिशत थियो ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख सुनिता पौडेलले पाँच वर्ष लगातार औषधी खुवाएपछि प्रि टाँस्क सर्वे गरेर अर्को वर्ष औषधी खुवाएर निवारण गर्ने रणनीति फेल भएकाले बाँकेमा १३ औं चरणमा औषधी खुवाउने तयारी गरिएको बताउनुभयो ।
११ गतेदेखि शुरु गरेर फाल्गुन मसान्तसम्म औषधी खुवाउने फोकलपर्सन दुर्गा गौतमले जानकारी दिनुभयो । बाँकेमा लक्षित ६ लाख १६ हजार ६ सय ९५ जना रहेका छन् । बाँकेमा अरु पालिकाको भन्दा नेपालगञ्ज उपमहानगरपालिकामा कभरेज कम रहदै आएको छ ।