नक्कली नोटसहित तीन जना पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, न्यूरोडबाट ५ लाख ६९ हजार रुपैया नक्कली नोटसहित बाँके कोहलपुरका मोहन कुमाई, सल्यान बनगाडका मोहन राना र तुर्माखाद अछामका दिपक विसीलाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरले नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र बाँके प्रहरीले उनीहरुलाई नोटसहित पक्राउ गरेको जानकारी दिनुभयो ।
पक्राउ परेका व्यक्तिले नक्कली नोट कहाँबाट छापेर ल्याए, कसरी ल्याए, कति सटही गरे भन्नेबारेमा अनुसन्धान भइरहेको प्रवक्ता घर्तिमगरले अनुसन्धान भइरहेको बताउनुभयो ।
नेपालगञ्जमा केही दिनअघि नक्कली नोट छाप्ने मेसिनसहित केही रकम बरामद भएको थियो । यी घटनालाई हेर्दा बजारमा नक्कली नोट छ्याप्छ्याप्ती रहेको आशंका गरिएको छ ।
यसैबीच, प्रहरीले ५० ग्राम लागु औषधी ब्राउनसुगरसहित पक्राउ परेका तीन जनालाई पनि बिहीबार सार्वजनिक गरेको छ । माघ २६ गते नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, वाटरपार्कबाट पक्राउ परेका रुकुम पश्चिम सानोभेरीका तिलक डाँगी, सोविराम केसी र विनोदकुमार गौतमलाई प्रहरीले सार्वजनिक गरेको हो ।