जय किसान फाइनलमा
नेपालगञ्ज – कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भएको प्रतियोगितामा जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा कृष्णले खेलको ५९औं मिनेट, ६९ औं मिनेट र ८० औं मिनेटमा गोल गर्दै टोलीलाई फाइनलमा पुरयाएका छन् ।
अब माघको २९ गते हुने प्रतियोगिताको फाइनलमा जय किसान स्पोर्टस क्लबले सहारा क्लब इन्डिया र बागमती स्पोर्टस क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनलमा सहारा र बागमती बिच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।