समानुपातिकमा पनि अन्तर्घात
नेपालगञ्ज – नेपाली कांग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग पार्टीमा भित्रिएको बताएका छन् ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता महतले प्रत्यक्षतर्फ हुँदै आएको अन्तर्घात यसपटक समानुपातिकमा पनि प्रवेश गरेको बताए ।
“पार्टीलाई घात गरेर अन्यत्रै भोट हालिएको छ, आफ्नै साथीलाई स्विकार्न नसकेर अरु पार्टीका उम्मेदवारहरुलाई भोट हाल्ने काम पनि भएको छ”, महतले भने-“आफ्नै साथीलाई हामी स्विकार्न तयार छैनौं बरु अन्यत्र मतदान गरिरहेका छौं ।”
उनले पार्टीमा आग्रह पूर्वाग्रह तल्लो तहसम्म पुगेको बताउँदै विभाजित मानसिकता हाबी भएको टिप्पणी गरे । एकले अर्कालाई नस्विकार्ने खतरनाक संस्कार पार्टीभित्र मौलाएको उनको भनाई छ । कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामै रहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान रक्षाका पक्षमा उभिने प्रतिबद्धता जनाएपछि तत्कालका लागि कांग्रेसले सरकारलाई समर्थन दिएको जिकिर गरे ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले टिकट वितरणमा उपयुक्त निर्णय लिन नसक्दा पार्टीले पराजय व्यहोरेको बताए । केन्द्रीय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास गर्न नसक्दा समस्या बढेको उनको भनाई छ । पार्टीमा इमान र अनुशासन कमजोर भएको गौडेलको टिप्पणी छ ।
कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले राखेका जिज्ञासाको जवाफ प्रबक्ता महतले दिएका थिए । सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।