२० वर्षपछि विवाह गरेमा सिलिण्डर उपहार
नेपालगञ्ज – बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिण्डर सेट उपहार दिने निर्णय गरेको छ ।
मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताउनुभयो । ‘हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले सिलिण्डर सेट उपहार योजना ल्याएका छौं, वडाध्यक्ष शेषले भन्नुभयो, यो योजनाले बालविवाह रोकथाममा सहयोग पु¥याउने आशा गरेका छौं ।’
वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ । उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण (दुल्हा–दुल्ही दुवैको) पेश गर्नुपर्नेछ । यो उपहार योजना वडा नं. ५ का स्थायी बासिन्दाका लागि मात्रै लागु गरिएको छ ।
बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । विवाहको उमेर २० वर्ष भएपनि परम्पराका नाममा पहिले नै विवाह गरेको पाइन्छ । बालविवाहमा न्यूनीकरण भइरहेपनि अझै रोकथाम हुन सकेको छैन । वडाध्यक्ष शेषले आफ्नो वडामा बालविवाह अन्यत्र भन्दा बढी नै रहेको जानकारी दिनुभयो ।
मधेसी समुदायमा विवाह, गौना, थौना, आला, चाला गरेपछि मात्रै दुल्हीलाई घरमा राखिन्छ । विवाह भएपनि यी सबै प्रक्रिया पु¥याउन समय लाग्छ । सानैमा विवाह गर्ने र अरु प्रक्रिया २० वर्षसम्ममा पु¥याउने गरेको पनि पाइएको छ । कतिपयले भारतमा रहेका आफन्तीको घरबाट नै बालविवाह गरेको पाइन्छ ।
मधेसी समुदायका केही व्यक्तिले बाँकेमै १६ वर्षमा विवाह गर्न पाउनु पर्छ भन्दै केही अगाडि निरन्तर आन्दोलन गरेका थिए ।
पहाडी समुदायमा पनि बालविवाह रहेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर स्कूले बालबालिका विवाहमा बन्धनमा बाँधिन्छन् ।
ठूलो समस्याको रुपमा रहेको बालविवाहलाई रोकथाम गर्न अन्य पालिकाहरुले पनि फरक–फरक योजना ल्याइरहेका छन् । डुडुवा गाउँपालिकाले कन्या मुद्दति खाता सञ्चालन गरेको छ । छोरी जन्मिने वित्तिकै उसको नाममा पालिकाले नै खाता खोलेर पैसा राखिदिने र त्यो पैसा र ब्याज २० वर्षपछि निकाल्न सकिन्छ । कन्या मुद्दति खाताको पैसा अगाडि निकाल्न नसक्दा बालिकाले बालविवाह नगर्ने मात्रै होइन, कम्तीमा एसईई पढ्ने विश्वास गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले पनि २० लाख रुपैया छुट्याएर बालिकाको शिक्षाका लागि डुडुवामै जस्तै कार्यक्रम सञ्चालन गर्दैछ । बालिकालाई शिक्षामा जोड्न सक्दा बालविवाह न्यूनीकरण हुने सम्बद्धहरुको भनाई छ ।