दादुरा संक्रमण : दैनिक बिरामी बढ्ने र निको हुने बराबरीजस्तै
नेपालगञ्ज – बाँकेको पाँच वटा पालिकामा देखिएको दादुरा संक्रमणका बिरामीको संख्या बढ्ने र निको हुने अवस्था बराबरीजस्तै देखिएको
छ ।
नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिकामा दैनिक दुई दर्जनबढी नयाँ बिरामी देखा परिरहेको छ । यी पालिकामा निको हुने दर पनि बराबरीजस्तै छ ।
स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, माघ ९ गतेको अवस्था हेर्दा २७ जना नयाँ बिरामी थपिएका छन् भने २१ जना निको भएका छन् । अरु दिनको अवस्था पनि यस्तै देखिएको छ ।
नेपालगञ्जमा २ सय १५ जना, खजुरामा २० जना, कोहलपुरमा ६ जना, नरैनापुरमा २८ जना र डुडुवामा १७ जनामा दादुरा संक्रमण देखिएको छ । अहिलेसम्म २ सय २७ जना निको भएका छन् भने ५८ जना उपचारमा छन् । यी पालिकाको ३० वटा वडामा संक्रमण देखिएको छ ।
पालिकाहरुले दादुराविरुद्धको खोप अभियानलाई तिब्रता दिइरहेका छन् । चार पालिकामा ८९ हजार ४ सय ५८ जना लक्षित बालबालिकामा रहेकोमा ७९ हजार ९ सय ३५ जनालाई खोप लगाइसकिएको छ । कोहलपुर नगरपालिकामा खोप लगाउने तयारी भइरहेको छ । ६ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप लगाइएको छ ।