दिनदहाडै खुकुरी हान्ने समातिए

नेपालगञ्ज – नेपालगञ्जमा दिनदहाडै खुकुरी हान्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४, गणेशपुरमा आइतबार दिउँसो सवा एक बजे तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका चार जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

बाँके प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तिमगरका अनुसार, नेपालगञ्ज–१८ का विनय भण्डारी, राप्तीसोनारी गाउँपालिका–२ का नारायण डाँगी, नेपालगञ्ज–५ का प्रकाश रसाइली भन्ने तुलसीराम सुनार र नेपालगञ्ज–६ का तासे भन्ने प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको छ । यी चार जनाले नेपालगञ्ज–१२ का अनुराग शाह, जानकी गाउँपालिका–३ का उज्वल शाह र नेपालगञ्ज–४ का सुभमजंग शाहलाई खुकुरी हानेका थिए । घाइतेहरुलाई नेपालगञ्ज शिक्षण अस्पतालमा प्रारम्भिक उपचार गरेर भारतको लखनऊ पठाइएको छ ।

युपी ३२ इयु ८६१६ नम्बरको कारमा रहेका चार जनाले तीन जनालाई खुकुरी हानेर भारततिर भाग्दै गर्दा डुडुवाबाट पक्राउ परेका थिए । उनीहरुले प्रयोग गरेको दुई थान खुकुरी नेपालगञ्ज–५, फुल्टेक्रास्थित झाँडीमा फेला परेको प्रहरीले जनाएको छ ।

डीएसपी घर्तिमगरले दुई समूहका बीचमा रहेको पुरानो रिसिइबीका कारण आइतबारको घटना भएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !