मानव बेचबिखन रोक्न ‘संयन्त्र’ निर्माणमा जोड

नेपालगञ्ज – नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुले मानव बेचबिखन रोकथामका लागि मिलेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

माइती नेपाल, नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको मानव बेचबिखनसम्बन्धी ‘क्रस बोर्डर वर्कसप’मा दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखन दुवै देशको समस्या भएकाले त्यसको रोकथामका लागि मिलेर अघि बढ्नु पर्ने बताए ।

अधिकारीहरुले दुवै देशको सुरक्षा अधिकारी, स्थानीय सरकार, गैरसरकारी संघ संस्थाका बीचमा सूचना आदान प्रदानका लागि संयन्त्र बनाउनु पर्ने, रोकथाम र उद्धारमा मिलेर अघि बढ्नु पर्ने बताएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले खुल्ला नाकाका कारण मानव बेचबिखन रोकथाम चुनौतीपूर्ण रहेकाले दुवै देशका सुरक्षा अधिकारी, स्थानीय सरकार र संघ संस्था मिलेर अघि बढ्नु पर्ने बताउनुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मानव बेचबिखनको मुद्दा दुई देशको अन्तरदेशीय सुरक्षा अधिकारीको बैठकमा प्रमुख रुपमा उठ्ने गरेको स्मरण गराउदै यो समस्या दुवै देशको भएकाले दुवै देश चनाखो हुनु पर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी खत्रीको सक्रियतामा गतवर्ष पुस ७ गते नेपालगञ्जमा भारतका ७ जिल्ला र नेपालका आठ जिल्लाका सुरक्षा अधिकारीको बैठक बस्दा मानव बेचबिखन रोकथाम प्रमुख मुद्दा बनेको थियो ।

प्रजिअ खत्रीले मानव बेचबिखन भारतमा मात्रै नभएर भारत हुँदै तेस्रो मुलुकमा समेत भइरहेकाले भारतले यस विषयमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

भारतको एसएसबी ४२ नम्बर बटालियनका कमान्डेड तपनकुमार दासले मानव बेचबिखन रोकथामका लागि ह्वाट्सअफ गु्रप बनाउनु पर्ने, यसप्रकारको अन्तरक्रिया गरिरहनु पर्ने र स्कूलहरुमा मानव बेचबिखनविरुद्ध पढाउनु पर्ने बताउनुभयो । उहाँले मानव बेचबिखनविरुद्ध नाकामा नेपाली सुरक्षा अधिकारीसँग मिलेर काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाले मानव बेचबिखनको तौरतरिका, बेचबिखनको अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो ।

भारतमा समेत बेचबिखनमा परेकाको उद्धार गर्ने संयन्त्र छैन । अधिकारी र संघ संस्थाले व्यवहारिक हिसावले उद्धार गरिरहेका छन् । मानव बेचबिखनविरुद्ध काम गरेका संघ संस्थाले उद्धार संयन्त्र बनाउन जोड दिइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !