शहीद परिवार समानुपातिकमा परेनन्
नेपालगञ्ज – सिके रावतले नेतृत्व गरेको जनमत पार्टीले भूमिगत भएर विविध गतिविधि गर्दा बाँकेका राममनोहर यादव अगाडि देखिन्थे । खुल्ला राजनीतिमा आउनु अघि स्वतन्त्र मधेसको आवाज उठाउने जनमत पार्टीका नेता तथा कार्यकर्तालाई धरकपड हुने गर्दथ्यो ।
२०७४ भदौ ७ गते तत्कालिन मन्त्री उपेन्द्र यादवको बाँके–बर्दिया भ्रमण थियो । त्यसक्रममा सिके रावत नेतृत्वको स्वतन्त्र मधेसका केही नेता तथा कार्यकर्ताले मन्त्री यादवलाई कालो झण्डा देखाए । मन्त्री यादवलाई कालो झण्डा देखाउदा राममनोहरलाई प्रहरीले गिरफ्तार ग¥यो ।
मधेशलाई छुट्टै देश बनाउने अभियानमा लागेका राममनोहरलाई प्रहरीले हिरासतमा यातना दियो । प्रहरीको कुटाईले गम्भीर भएका राममनोहरको उपचारका लागि काठमाडौं लैजादा भदौ १५ गते मृत्यु भयो ।
घटनाले ठूलो रुप लियो । राममनोहरका परिवारले शव बुझेनन् । फाल्गुन २० गते भाई विष्णु यादवले काठमाडौंमा राममनोहरको शव बुझे । २१ गते बाँके ल्याइयो । यो दिन गनापुरदेखि कपासीगाउँसम्म सिके रावतका देशभरका नेता तथा कार्यकर्ताले भरिए । पूर्वबाट बसका बस सिके रावतका कार्यकर्ता आए । बाँकेमा प्रहरी र सिके रावतका कार्यकर्ताको भिडन्त हुने अवस्था सिर्जना भयो । धन्न ठूलो दुर्घटना नभई राममनोहरको दाहसंस्कार गरियो । सिकेका कार्यकर्ताले प्रहरी प्रशासनको उपस्थितिलाई टाढा राखेर दाहसंस्कार गरे ।
सिके रावतको पार्टीले राममनोहरलाई ‘शहीद’ घोषणा ग¥यो । दाई गुमाएका विष्णु अहिले पनि त्यही पार्टीमा निरन्तर छन् । विष्णुकी श्रीमती राधाकुमारी पनि जनमत पार्टीमै छन् । पार्टीमा लाग्दा लाग्दै बाँकेका विष्णु र दाङकी राधाकुमारीको विवाह भएको छ ।
यतिबेला पार्टीहरुले समानुपातिकको सूची बुझाइरहेका छन् । सिके रावतको पार्टीमा लागेर शहीद नै भएका बाँके जानकी गाउँपालिका वडा नं. ६, कपासीका राममनोहरका परिवार भने त्यो बन्द सूची परेका छैनन् ।
विष्णु पार्टीका केन्द्रीय सदस्य छन् । राधाकुमारी केन्द्रीय कार्यकारिणी समितिको सचिव छन् । उनीहरु शहीद परिवारका सदस्य हुन् । पार्टीले विष्णु र राधाकुमारीलाई समानुपातिकमा पाएको पाँच जनाको कोटामा स्थान दिन सकेन । विष्णु स्थानीय चुनावमा जानकी गाउँपालिकाको अध्यक्ष लडेका थिए । त्यतिबेला समयमा चुनावी खर्च सार्वजनिक नगरेकाले उनीलाई निर्वाचन आयोगले अयोग्य ठहर ग¥यो । राधाकुमारीको नाम पार्टीले मधेसीमा तेस्रो नम्बरमा राख्न त राख्यो तर अन्तिममा नामावली बुझाउँदा काटिदियो । पार्टीले शुरुमा ३५ जनाको नामावली तयार पारेको थियो । त्यसपछि २८ जनाको नामावली निकाल्यो । यतिबेला राधाकुमारीको नाम २० औं नम्बरमा थियो । मधेसी समूहमा तेस्रो नम्बरमा नाम राखिएपनि अन्तिममा फालियो ।
जनमत पार्टीका अध्यक्ष डा. सिके रावतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेर सांसद भएका छन् । त्यही प्रतिस्पर्धी यादवलाई कालो झण्डा देखाउदा मृत्युवरण गरेका आफ्ना कार्यकर्ताका परिवारलाई भने डा. रावतले बिर्सिएका छन् ।
शहीद राममनोहरका भाई विष्णुले अहिले नपरेपनि पार्टीले कही न कही समेट्ने विश्वास व्यक्त गरे ।
प्रतिकूल परिस्थितिमा पार्टीमा लागेर शहीद भएका व्यक्तिका परिवारलाई अवसर आउँदा प्राथमिकता राख्न नसक्नुले जनमत पार्टी पनि अन्य पार्टीसरह नांगिएको छ । केन्द्रीय कार्यकारिणी समितिका सचिव राधाकुमारीले शहीद परिवारका सदस्यलाई समेट्न सकेको भए पार्टीको लोकप्रियता अझ बढ्न सक्थ्यो भने । पार्टी अध्यक्ष डा. रावतले यसअघिका अवसरहरुमा समेट्ने आश्वासन दिएको स्रोतले बताएको छ ।