कर्मचारीद्वारा गाउँपालिका कार्यालयमा तालावन्दी
नेपालगञ्ज – बाँके डुडुवाका कर्मचारीले गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।
दलहरुको विवादले गर्दा नयाँ आर्थिक वर्ष २०७९।८०को गाउँसभा नबस्दा बजेटसमेत पास नभएपछि तलबसमेत खान नपाएका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । बजेट पास नहुँदा पालिकाको सबै सेवा सुविधा ठप्प छ ।
कर्मचारीले गाउँपालिका कार्यालय, ६ वटै वडा कार्यालय र आकस्मिक सेवा बाहेकका सबै स्वास्थ्य चौकी कार्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयहरुमा पनि शिक्षकहरुले आशिंक अध्ययापन गराएका छन् । केहीदिन अघिदेखि शिक्षक र स्वास्थ्यकर्मीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि सबै कर्मचारीहरुले एक्यबद्धता जनाएका छन् । तालावन्दीपछि अहिले सम्पूर्ण सेवा ठप्प भएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको तलबभत्ता तथा चाडपर्व खर्च गाउँपालिकाका कुनैपनि कर्मचारीले खान पाएका छैनन भने अन्य सबै विषयगत सेवाहरु समेत प्रभावित भएको छ । अहिले स्वास्थ्य चौकीमा सिटामोल औषधी छैन भने ल्याब, लगायतका स्वास्थ्य सेवा, पशु सेवा प्रभावित भएको प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
यसैबीच, मंगलबारलाई कार्यपालिका बैठक बोलाइएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिनुभयो । अध्यक्ष, उपाध्यक्ष र एउटा वडाध्यक्ष जितेको कांग्रेस एकातिर र तीन वटा वडाध्यक्ष जितेको जसपा र दुई वटा वडाध्यक्ष जितेको एमाले अर्कोतिर हुँदा पालिकाको गाउँसभासमेत हुन सकेको छैन । लामो समयदेखि पालिका बन्धक भएकाले मंगलबारको बैठकमा कुरा मिल्न सक्ने बताइएको छ ।