ओशो कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन्
नेपालगञ्ज – ओशोको जन्म सन् १९३१ मा सामान्य परिवारमा भयो । भारतको मध्य प्रदेशस्थित कुचवाडा भन्ने गाउँमा ओशो जन्मिए । जन्मको समयमा उनको नाम चन्द्रमोहन जैन थियो । बाल्यकालमै चन्द्रमोहनको दर्शनमा निकै रुचि थियो र पढाईमा निकै तेज थिए । उनले आफ्नो पढाइ जबलपुरमा पूरा गरेका थिए । पछि उनले जबलपुर विश्वविद्यालयमा प्राध्यापकको रुपमा पनि काम गरे ।
ओशोले धर्म तथा जीवन जगतका विचार धारामाथि संसार भरि प्रवचन दिए । उनको प्रबचन निकै जीवन उपयोगी छन् र ध्यान बिधिहरु पनि निकै उत्कृष्ठ, मन मस्तिष्क छुने खालका छन् । उनको आकर्षक व्यक्तित्व र दमदार प्रबचनले मानिसहरु माथि निकै प्रभाव पर्ने गथ्र्यो । ओशोले छोटो समयमा बिश्व भरी लाखौ अनुयायी बनाई सकेका थिए । प्रवचनका साथसाथै उनले आफ्नै सक्रियतामा ध्यान शिविर पनि आयोजना गरेका थिए । शुरुमा उनलाई आचार्य रजनीश भनी चिनिन्थ्यो र पछि भगवान श्री रजनीश पनि भन्ने गरियो । जागिरे जीवन छोडेपछि उनले नवसंन्यास आन्दोलन शुरु गरे । त्यसपछि उनले आफूलाई ओशो नाम दिए र अहिले पनि संसारले ओशो भनेर चिन्ने गरेको छ । जीवन कसरी जिउने भन्ने प्रत्येक मानिसको आफ्नो हातमा हुन्छ भन्ने गर्थे र निकै मनमोहक तरिकाले प्रबचन दिने गर्थे । आज पनि युटुबमा उनका प्रबचनहरु सुन्न सकिन्छ र उनको प्रबचन सुन्ने मानिसहरु बिश्वमा अहिले पनि धेरै छन् । जीवन स्वतन्त्र जिउनु पर्छ र मानिस कुनै पनि बन्देजमा रहनु हँुदैन । मानिस स्वतन्त्र जन्मियो र स्वतन्त्र बाँच्न पाउनु पर्छ भन्ने उनको भनाई थियो । उनको सम्भोग से समाधीकी और भन्ने पुस्तक र म मृत्यु सिकाउछु भन्ने पुस्तकहरु निकै बिकेका पुस्तकहरु हुन् । उनको ६ सय बढी पुस्तकहरु छापिएका छन् र बजारमा पाउन सकिन्छ । उनका पुस्तकहरुमा निकै नै मनमा तरंग ल्याउने खालका छन् ।
सन् १९८१ देखि १९८५ सम्म उनी अमेरिकामा बसे । उनको अमेरिका बसाई पनि निकै बिबादास्पद थियो । त्यहाँ ओरेगनमा उनले निकै ठूलो आश्रम स्थापना गरे, जो आश्रम ६५ हजार एकडमा फैलिएको थियो ।
ओशोको अमेरिका प्रवास विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयस कार, डिजाइनर कपडाका कारण उनी सधैं चर्चामा रहे । उनी धनीहरुका गुरु भनेर पनि चिनिएका थिए । ओरेगनमा ओशोका शिष्यहरूले उनको आश्रमलाई रजनीशपुरम नामक शहरका रूपमा दर्ता गर्न चाहे तर स्थानीयहरूले यसको विरोध गरे । त्यसपछि उनी भारत फर्किए । भारत फर्केपछि उनी पूणेको कारेगाँव पार्क इलाकामा रहेको आफ्नो आश्रममा फर्किए । उनको मृत्यु सन् १९९० को १९ जनवरीमा भयो ।
उनको मृत्युपछि पूणे आश्रमको नियन्त्रण ओशोका शिष्यहरूले हातमा लिए । आश्रमको सम्पति करोडौं रुपैयाँ रहेको मानिन्छ र यसका लागि शिष्यहरूमा विवाद छ । ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने चिकित्सक गोकुल गोकाणी लामो समयसम्म उनको मृत्युको कारणका बारेमा मौन रहे । पछि उनले मौनता तोड्दै मृत्यु प्रमाणपत्रमा गलत सूचना दिएर हस्ताक्षर लिइएको बताए । डाक्टर गोकाणी ओशोको मृत्युको समयमाथि पनि प्रश्न उठाउँछन् । ओशोका शिष्यहरूले उनको मृत्युको कारण हृदयघात लेख्नका लागि दबाब दिएको पनि गोकाणी बताउँछन् । अमेरिकामा उनलाई रासायिनक विष दिइएको चर्चा पनि चल्ने गर्छ । ओशोको आश्रममा कुनै पनि संन्यासीको मृत्युलाई उत्सवजस्तो गरी मनाइन्थ्यो । तर ओशोको मृत्यु हुँदा त्यसको घोषणा एक घन्टाभित्रै उनको अन्तिम संस्कार गरियो अनि उनको निर्वाण उत्सवलाई पनि संक्षिप्त राखियो ।
ओशोकी आमा पनि आश्रममै बस्थिन् । ओशोको सचिव भइसकेकी नीलमले पछि एक अन्तर्वार्तामा उनको मृत्युसँग जोडिएको रहस्यका विषयमा कुरा गरेकी थिइन् । ओशोको निधनको जानकारी उनको आमालाई पनि ढिलो गरी दिइएको थियो । नीलमले एक अन्तर्वार्तामा दाबी गरेअनुसार, आमा लामो समयसम्म पनि छोरा तिमीलाई उनीहरूले मारे’ भनिरहन्थिन् । पूणेस्थित उनको समाधीमा लेखिएको कुराले पनि ओशोको महत्व थाहा पाउन सकिन्छ, ‘कहिल्यै जन्मिएनन्, कहिल्यै मरेनन् ।’ उनी धर्तीमा ११ डिसेम्बर १९३१ देखि १९ जनवरी १९९० का बीचमा आएका थिए ।