दुर्घटनामा दुई जना घाइते
नेपालगञ्ज – नेपालगञ्जको जमुनाहा नाकामा कोरोना भाइरसको चेकजाँचको व्यवस्था मिलाउन जादै गरेका नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका दुई जना कर्मचारी दुर्घटनामा परेर घाइते भएका छन् ।
भे ६ प ७५२५ नम्बरको मोटरसाइकलमा जमुनाहा जादै गरेमा स्वास्थ्यकर्मी गणेश कार्की र जागेश्वर बस्नेत दुर्घटनामा परेर घाइते भएका हुन् । स्वास्थ्यकर्मी कार्की र बस्नेत चढेको मोटरसाइकललाई भे १ ब ३ सय ४ नम्बरको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिने सरकारी गाडी भेटेनरी कार्यालयको रहेको बुझिएको छ ।
कार्की र बस्नेतको नर्सिङहोममा उपचार भइरहेको छ । बस्नेतको दाहिने हातमा अलि बढी चोट लागेको छ । कार्कीको देब्रे खुट्टा, हातमा चोट लागेको छ । दुवै जना खतरामुक्त रहेका छन् ।
भारतबाट नेपालमा प्रवेश गर्नेहरुलाई जाँच गर्ने र संक्रमित देखिएमा उपचारको व्यवस्था मिलाउन कार्की र बस्नेत जमुनाहा जादै थिए । यसअघि स्वाइनफ्लुको चर्चा रहेकै बेलामा जमुनाहामा हेल्थ डेस्क राखिएको छ । त्यसलाई व्यवस्थित गरेर कोरोना भाइरस जाँच गर्ने तयारी गरिएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपकरणसहित स्वास्थ्यकर्मी खटाउने तयारी गरेको थियो ।