बज्रदलको आयोजनामा स्कूलस्तरको फुटबल प्रतियोगिता शुरु

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले नेपाली सेनासँग सूचीकृत भएका बाँके र बर्दियाका स्कूलका विद्यार्थी बीचमा फुटबल प्रतियोगिता गराएको छ ।

ब्यारेकको बाहिरपट्टी रहेको २ नम्बर मैदानमा विद्यार्थीका बीचमा फुटबल प्रतियोगिता गराइएको हो ।

प्रतियोगिताको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटनमा बाहिनीमा रहेका अधिकृत र सहभागी स्कूलका शिक्षकका बीचमा मैत्रीपूर्ण म्याच गराइएको थियो । जसमा आर्मी ४–० गोलले विजयी भयो । आर्मीको तर्फबाट बज्रदलका गणपति प्रमुख सेनानी श्याम आत्रेय पौडेल, अशोक खड्का, सेनानी डा. अरविन्द्रराज सिंह र सेनानी खेम ढकालले गोल गरे ।

प्रतियोगिताको आइतबार भएको खेलमा कोहलपुर बागेश्वरी इङ्लिस मिडियम स्कूल विजयी भएको छ । बागेश्वरीले नमूना विद्या सदनलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेको थिएन । यो खेलमा बागेश्वरीका मनोज राना म्यान अफ द म्याच भए ।

बज्रदल गणले बाँके र बर्दियामा रहेका सेनाको सूचीकृत विद्यालय र एन्फा लुम्बिनीसँगको सहकार्यमा सञ्चालन गरेको प्रतियोगिताको उद्घाटनमा प्राविधिक सहायक रथी नम्रता रावत, प्रतियोगिताका संयोजक किसन गुरुङ, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीलगायतको उपस्थिति थियो । प्रतियोगितामा ११ वटा स्कूलले भाग लिएका छन् । बाँके र बर्दियामा सेनाको सूचीकृत रहेका १६ वटा विद्यालय छन् ।


error: यो सुविधा उपलब्ध छैन !