८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास वोर्ड हटाइयो
काेहलपुर – कोहलपुर नगर प्रहरीले कोहलपुर क्षेत्रका ८७२ वटा अनधिकृत होडिङ वोर्ड र फल्यास बोर्ड हटाएको छ । नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ वोर्ड तथा फल्यास बोर्डहरु हटाइएको हो । विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृतबिना राखिएका विभिन्न संघसंस्थाका २२० वटा होडिङ वोर्ड र ६५२ वटा फल्यास वोर्डहरु हटाइएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो । केहीलाई जरिवाना समेत गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘कोहलपुर नगर क्षेत्रभित्रका अनधिकृत तथा मापदण्ड विपरीतका सबै होडिङ वोर्ड तथा फल्यास वोर्डहरु हटाइएको छ थापाले भन्नुभयो–‘अनधिकृतरुपमा होडिङ वोर्ड राख्नेलाई कारबाहीको दायरामा समेत ल्याएको छौं ।’ उहाँका अनुसार अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको छ । गर प्रहरीको नियन्त्रणमा रहेका ती होडिङ वोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको पनि थापाले बताउनुभयो । अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फल्यास वोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरेको छ । यदी ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
सडक पेटी खाली गराउन थालियो
कोहलपुर नगरपालिकाभित्रका सडक पेटी खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडक पेटी कब्जा गर्ने, पसल तथा ठेलाहरु राख्ने गरेको पाइएपछि नगर प्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो । मानिसहरुलाई हिडडुलमै समस्या पर्नेगरी सडक पेटीहरु कब्जा गरिएपछि नगर पालिकाले सात दिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो । सोहीअनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत नगर प्रहरीले कब्जा गरिएका सडक पेटी पनि खाली गराउन थालेको हो । नगरपालिकाबाट खटिएका अमिनहरुले नगरक्षेत्र भित्रको सडक पेटीलाई मार्किङ गरिसकेका छन् । कतिपय व्यवसायीहरुले स्वःस्र्फतरुपमा पनि सडक पेटी खाली गरिसकेका छन् । यसअघि नगरक्षेत्र भित्रको फुटपाथ कब्जा गरि बसेका ठेलाहरुलाई नगर प्रहरीले हटाइसकेको छ । फुटपाथ खाली गराउने अभियानलाई अटेर गर्ने ५४ ठेला व्यवसायीलाई कारबाहीको दायरामा समेत ल्याउने काम भएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । उहाँले त्यसबाट १६ हजार राजश्व संकलन भएको पनि बताउनुभयो । यस्तै नगर प्रहरीले रत्नराजमार्ग अन्तर्गत कोहलपुर चौराहदेखि सुर्खेतरोड सडक खण्डको वडा नं.२ सम्मको सार्वजनिक जग्गामा अतिक्रमण गरेर बसेका टहरा तथा पसलहरु पनि खाली गराएको छ । सडकको मापदण्ड अनुसार राजमार्गको क्षेत्राधिकार भित्र थापेका करिव ६० वटा घुम्ति पसल, टहर तथा ठेला व्यवसायीहरुलाई हटाइएको हो । अव तत्काल चौराहदेखि नेपालगन्ज सडकखण्ड अन्तर्गत पार्वतीपुरसम्मको सडक अतिक्रमण समेत हटाउने तयारी सुरु गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो ।