बाँकेमा किन सांसद दोहोरिदैनन् ?

नेपालगञ्ज – बाँकेवासीले प्रत्येक चुनावमा फरक–फरक व्यक्तिलाई चुनाव जिताउने गरेका छन् । २०६४ सालको संविधान सभा निर्वाचन यता जिल्लाका कुनै पनि क्षेत्रमा कुनै पनि व्यक्तिले दोहोरिएर चुनाव जितेका छैनन् ।

बाँकेमा कहिले चार त कहिले तीन वटा निर्वाचन क्षेत्र बनाइयो । २०६४ सालमा यहाँ चार वटा निर्वाचन क्षेत्र थियो । पहिलो पटक निर्वाचनमा आएको माओवादी र मधेस आन्दोलनको तापमा रहेको मधेसी जनअधिकार फोरमले बाँकेका दुई÷दुई क्षेत्र जिते । परम्परागत ठूला शक्ति कांग्रेस र एमाले शून्यमा झरे । त्यतिबेला क्षेत्र नं. १ मा माओवादीका तिलक परियार र क्षेत्र नं. ४ मा पूर्णाकुमारी सुवेदीले चुनाव जित्दा क्षेत्र नं. २ मा फोरमका मो. इस्तियाक राई र सर्वदेव ओझा ‘माननीय’ भए । ओझाले कांग्रेसका हस्ती सुशील कोइरालालाई हराए ।

२०७० को चुनावमा माओवादी र फोरम शून्यमा झरे । एमालेले तीन वटा क्षेत्र जित्दा कांग्रेसले एउटा क्षेत्र जित्यो । एमालेबाट क्षेत्र नं. १ मा देवराज भार, क्षेत्र नं. २ बाट दिनेशचन्द्र यादव र क्षेत्र नं. ४ मा दलबहादुर सुनारले चुनाव जिते । क्षेत्र नं. ३ बाट कांग्रेसका सुशील कोइरालाले बाजी मारे । २०६४ मा कोइरालालाई हराउने सर्वदेव ओझाले ७५ मत पाए भने राप्रपाका डा. धवलशमशेर राणा निकटतम प्रतिस्पर्धी भए ।
२०७४ मा आइपुग्दा एमाले र माओवादीले मिलेर नेकपाबाट चुनाव लडे । तीन वटा निर्वाचन क्षेत्र कायम भएको बाँकेमा नेकपाले दुई र एउटामा फोरम (जसपा) ले जित्यो । क्षेत्र नं. १ मा नेकपा (माओवादी) का महेश्वर गहतराज र क्षेत्र नं. ३ मा नेकपा (एमाले)का नन्दलाल रोकाय तथा क्षेत्र नं. २ मा फोरमका मो. इस्तियाक राईले चुनाव जितेका थिए ।

मंसीर ४ गते सम्पन्न निर्वाचनमा फरक–फरक पार्टीले चुनाव जितेको छ । क्षेत्र नं. १ मा एमालेका सूर्य ढकाल विजयी भए । २०७४ सालमा नेकपाबाट चुनाव जितेका हालका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजको सत्ता गठबन्धनबाट उम्मेदवार बनेर दोस्रो पटक लगातार माननीय हुने सपनालाई एमालेका ढकालले अधुरो बनाइदिएका छन् ।

क्षेत्र नं. २ मा लगातार दोस्रो पटक जीत निकाल्न लागिपरेका जसपाका मो. इस्तियाक राईको रफ्तारलाई राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले ब्रेक लगाइदिएका छन् । २०५४ र २०७४ मा दुई पटक नेपालगञ्जको मेयर भएका डा. राणा २०७० सालको संसदीय निर्वाचनमा कांग्रेसका सुशील कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए ।

क्षेत्र नं. ३ मा नेकपा हुँदा एमालेका नन्दलाल रोकायले जितेको यहाँ अहिले कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बाजी मारेका छन् । राठौरले एमालेका बाँके जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपतिलाई पराजित गरेका छन् ।

१५ वर्षको निर्वाचन परिणामलाई हेर्दा जिल्लामा कुनै व्यक्ति लगातार दोहोरिएका छैनन् । जनताले नयाँ अनुहारलाई अवसर दिएका छन् । प्रदेश सभामा भने क्षेत्र नं. १ को कमा माओवादीकी कृष्णा केसी दोहोरिएकी छन् । २०७४ सालमा नेकपाबाट यहीबाट चुनाव जितेकी केसीले अहिले सत्ता गठबन्धनको उम्मेदवार भएर जीत हासिल गरेकी छन् । अन्य प्रदेशमा भने सबै नयाँ अनुहार आएका छन् । ६ वटा प्रदेश सभामध्ये दुई वटामा एमाले, दुई वटामा जसपा, कांग्रेस र माओवादी एक एक वटा जितेको छ । एमालेले क्षेत्र नं. १ को ख, क्षेत्र नं. ३ को कमा क्रमशः दुर्गाप्रसाद चौधरी र रत्न खत्री, जसपाले क्षेत्र नं. २ को कमा भण्डारीलाल यादव र खमा आदेश अग्रवाल तथा कांग्रेसका बादशाह कुर्मीले क्षेत्र नं. ३ को खबाट जितेका छन् । कांग्रेसबाट प्रदेश सभा जितेका बादशाह कुर्मी संविधान सभा सदस्य हुन् । उनी त्यतिबेला समानुपातिकबाट माननीय भएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !